रौतहट । रौतहटमा राजनीति गर्दै आएका नेताहरूले कृषि पेशासमेत थालेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता अब्दुल वाहीद (वाहीद अन्सारी)ले चन्द्रपुरमा नमूना कृषि फार्म सञ्चालन गरेका छन् । उनले करीब रू. ४० लाखको लागतमा चन्द्रनिगाहपुर चोकबाट ३ किलोमिटर दक्षिणमा ‘चन्द्रपुर लाइभस्टक प्रालि’ सञ्चालन गरेका हुन् ।
करीब ३ वर्षदेखि चन्द्रपुर नगरपालिका–६ महादेव मन्दिरस्थित अढाइ बिगाघा जमीन भाडामा लिएर कृषि फार्म सञ्चालन गरेको उनले बताए । अहिले कुखुरा, माछा, राँगा तथा गाईपालन शुरू गरेका छन् । फार्ममा ३ हजार कुखुराको चल्ला राख्ने स्थान, सयओटा राँगा र गाई राख्ने गोठ र १५ कठ्ठामा ३ ओटा माछापालनका लागि पोखरी निर्माण गरी व्यवसायमा सक्रिय भएको उनले बताए । २०५७ देखि नेकपा माओवादी पार्टीमा लागेर राजनीतिमा सङ्घर्ष गर्दै आएका नेता अन्सारीले पार्टीले लिएको नीतिअनुसार आफूले व्यवसाय थालेको जानकारी दिए ।
राजनीतिसँगै जीविकोपार्जन गर्न व्यवसाय गर्नुपर्ने उनको बुझाइ छ । समाजशास्त्रमा स्नातकोत्तर उत्र्तीण ३५ वर्षीय युवा अन्सारी अहिले कृषिमा नै रमाउन थालेको बताउँछन् । वर्षको सबै खर्च कटाएर करीब रू. १० लाखसम्म आम्दानी हुने गरेको उनले बताए । फार्ममा ५ जना स्थानीयले पनि रोजगारी पाएका छन् ।
त्यस्तै, नेकपाका नेता तथा पूर्वसभासद् देवेन्द्र पटेलले रौतहटको वृन्दावन नगरपालिकास्थित लेरी गाउँमा व्यावसायिक पशुपालन गर्दै आएका छन् । उनले पाँडा, बाख्रा तथा माछापालन व्यवसाय गरेका हुन् । पशुपालन व्यवसायले राजनीति गर्न कुनै समस्या नहुने र राजनीति सामाजिक सेवा मात्र रहेको उनको भनाइ छ । उनले व्यावसायिक पशुपालनसँगै आफ्नो राजनीतिक यात्रालाई समेत निरन्तरता दिइरहेका छन् । पहिलो संविधानसभाको निर्वाचनमा एमालेका नेता माधवकुमार नेपाललाई रौतहट क्षेत्र नं. ६ बाट पराजित गरी चर्चामा आएका नेता पटेलले दोस्रो संविधानसभाको निर्वाचनमा पराजय भोगेपछि पशुपालन व्यवसायतर्फ लागेका हुन् ।