पर्वत । कुश्मा नगरपालिका–१२, ठूलीपोखरीकी कमला लामिछानेले गत वर्ष केश श्रृङ्गारसम्बन्धी तालीम लिइन् । उनी अहिले एक संस्थामा बजार प्रतिनिधिको काम गर्छिन् । सदरमुकाम कुश्माकी सविता पुरी र सुनीता गुरुङले सोही तालीम लिए पनि नियमित घरकै काममा व्यस्त छन् । लक्ष्मी गिरी, मुना लामिछाने, आरती रेग्मीले सिलाइकटाइ तालीम लिए पनि तालीमअनुसारको काममा लागेको देखिन्न । शीप सिकेर व्यवहारमा लागू गर्ने सयमा ५ जना पनि भेटिन्न ।
व्यावसायिक तथा शीप विकास तालीम केन्द्र पर्वतले महिलालाई केश श्रृङ्गार, सिलाइकटाइ, बुटिकजस्ता तालीम सञ्चालन गर्दै आएको छ । बेरोजगार महिलालाई रोजगार बनाउने उद्देश्यले दिने तालीम निःशुल्क हुने गरेका छन् । तर, तालीमपश्चात् अधिकांश महिला स्वरोजगारतर्फ लागेको देखिन्न ।
‘हामीले सबैले रोजगारी गरून् भन्ने चाहन्छौं,’ तालीम केन्द्रका प्रमुख किरणचन्द्र सुवेदीले भने, ‘कतिपयले व्यवसाय शुरू गरेका पनि छन् तर लगानीको अभावले अधिकांश महिलाले तालीमलाई उपयोग गर्न नसकेको कुरा सत्य हो ।’ सदरमुकाम कुश्मामा ब्युटिपार्लर खोल्ने महिलाहरू केन्द्रबाटै तालीम लिएका रहेको उनले बताए ।
गत आर्थिक वर्ष २०७३/७४मा व्यावसायिक तथा शीप विकास तालीम केन्द्रले करीब ३० लाख रुपैयाँ तालीममै खर्च गरेको छ । ७ सय ७ ओटा दीर्घकालीन र २ सय ९२ अल्पकालीन गरी ९ सय ९९ ओटा तालीम सञ्चालन गरिएको छ । केन्द्रले महिलालाई सिलाइकटाइ, केश श्रृङ्गार, अचार बनाउने, कम्प्युटर तालीम दिने गरेको छ ।
पुरुषका लागि हाउस वायरिङ, प्लम्बिङ, मोटरसाइकल मर्मतजस्ता तालीम सञ्चालन गर्दै आएको छ । सीटीईभीटीसँग र स्थानीय तहसँग समन्वय गरेर केन्द्रले बेरोजगारलाई तालीम दिँदै आएको छ । तालीम ३ महीने, ६ महीने, १५ महीने गरी अल्पकालीन र दीर्घकालीन प्रकृतिका हुने गरेको सुवेदीले बताए ।
तालीमका लागि राज्यको वर्षेनि करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ । २०५१ मा स्थापना भएको केन्द्रले हालसम्म ५ हजारभन्दा बढी व्यक्तिलाई तालीम दिइसकेको छ । हालसम्म १ हजार ५ सय जतिले व्यवसाय गरेको केन्द्रको दाबी छ । कतिपय विदेशमा पनि गएर काम गरेकाको विवरण पनि यो तथ्याङ्कमा परेको छ ।
केन्द्रले पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई कार्यक्षेत्र बनाएर तालीम सञ्चालन गर्छ । ‘तालीममात्रै दिने तर व्यवसाय गरे नगरेको भनेर कुनै निकायले अनुगमन गर्दैनन्,’ उद्योग वाणिज्य सङ्घ पर्वतकी सदस्य प्रमिला शर्माले भनिन्, ‘राज्यले तालीमपश्चात् ५० प्रतिशत लगानीको पनि व्यवस्था गरिदिनुपर्ने हो ।’ उनले तालीम दिएर प्रमाणपत्र बाँड्ने काम मात्रै भएको बताइन् ।