ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहाडको टाकुरामा बोरिङबाट पानी

Jul 27, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । फलेवास–३, पोखराचौरका भीमप्रसाद भुसालले आफ्नो दैलोअगाघि जमीनबाट पानी निस्किने कल्पनासमेत गरेका थिएनन् । तराईमा मात्रै बोरिङबाट पानी निकालिएको देखेका भुसाललाई आफ्नै घरअघि जमीन धस्साएर पानी निकालेको सपनाजस्तै लागेको छ । उनीजस्तै ६७ वर्षीय टीकावल्वभ भुसाल पनि बोरिङबाट पानी निस्किएकोमा दङ्ग छन् । पोखराचौरको शिव मन्दिरनजीकै ३० मिटर जमीन मुनिबाट पानी निकालिएको छ । जिल्लाकै सबैभन्दा उच्च भागमा रहेको ठाउँबाट बोरिङ मेशिनले खनेर पानी निकालिएपछि गाउँलेले अब आफूहरूको दुःखको दिन गएको ठानेका छन् । ३ हजार १४ मिटर उचाइमा रहेको यो गाउँमा जमीन मुनिबाट पानी निस्केला भन्नेमा आफूहरूले शुरूमा विश्वास नै नगरेको स्थानीयले बताए । गत हिउँदमा त्रिभुवन विश्वविद्यालयका भूगर्भविद्हरूको टोलीले यहाँको भित्री भागमा पानीको सतह रहेको पत्ता लगाएका थिए । भूगर्भविद्हरूको उक्त सर्वेक्षणपछि स्थानीयले फलेवास नगरपालिकालाई गुहारेर मेशिनमार्फत डीप बोरिङ गराएका थिए । डीप बोरिङका लागि केन्द्र सरकारबाट २० लाख रुपैयाँ विनियोजन भएको नगरपालिकाले बताएको छ । ‘पानी निकाल्न सम्भव छ भन्ने पुष्टि भएपछि हामीले सबैतिर पहल थाल्यौं,’ नगरप्रमुख पदमपाणि शर्माले भने, ‘प्रयासअनुसार सफल भइयो ।’ प्रतिसेकेण्ड ५ लिटरका दरले निस्कने पानी पहिलो चरणमा बिष्टपानीका करीब सय घरमा वितरण गरिने स्थानीय अगुवा कमलप्रसाद भुसालले बताए । ‘हाल ३० मिटरबाट पानी निस्केको छ,’ उनले भने, ‘अन्य ठाउँबाट निकालेर गाउँभरि एक घर, एक धारा वितरण गरिनेछ ।’ बिष्टपानी साविक शङ्करपोखरी गाविसको वडा नं २ पर्छ । यहाँ करीब १ सय घरधुरी छन् । डीप बोरिङ गरी निकालिएको पानी सङ्कलनका लागि ट्याङ्की बनाइने नगरपालिकाले बताएको छ । वर्षाको समय भएकाले ३० मिटरमै पानी भेटिए पनि हिउँदको समयमा पानीको बढी अभाव हुने भएकाले १ सय मिटर गहिराइबाट पानी तान्न सोही गहिराइसम्म खन्न थालिएको भुसालले बताए । फलेवास नगरपालिकाका ११ वडामध्ये शङ्करपोखरीको दुई तिहाइ भागमा पानीको चरम अभाव हुने गरेको छ । यहाँका सयौं घर, विद्यालय, स्वास्थ्य चौकीलगायतमा आकाशे पानी सङ्कलनका लागि घैंटा बनाइएका छन् । वर्षा र हिउँदमा पर्ने आकाशे पानी घरकटेराको छानाबाट पाइपको माध्यमले घैंटामा सङ्कलन गरेर खाँचो टार्ने गरिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)