गेटा मेडिकल कलेज निर्माण : रू. १ अर्ब २५ करोड विनियोजन
Jul 27, 2018
 
प्रदेश समाचार
धनगढी । सरकारी स्वामित्वमा निर्माणाधीन गेटा मेडिकल कलेजका लागि चालू आर्थिक वर्षमा रू. १ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ । मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति धनगढीका अनुसार गत आवभन्दा २७ करोड रुपैयाँ बढी विनियोजन गरिएको हो । गत आवमा मेडिकल बनाउन रू. ९८ करोड छुट्याइएको थियो ।
गत आवमा छुट्याइएको कुल बजेटमा ९७ प्रतिशत खर्च भएको थियो । भवन निर्माणको बजेट भने ९९ प्रतिशत खर्च भएको विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए । उक्त मेडिकल कलेजमा २०७७ देखि पठनपाठन सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।
निर्माणाधीन २१ ओटा भवन र २ ओटा अन्य संरचना निर्माणको सम्झौता भएकोमा अधिकांशको भौतिक प्रगति अपेक्षाकृत नभएको बताइन्छ । गत महीनामै सम्पन्न हुनुपर्ने प्रशासनिक भवनको काम १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको कार्यकारी निर्देशक पुजाराले बताए । १५ करोड रुपैयाँ लागत रहेको उक्त भवनको हालसम्म सवा करोड मात्रै खर्च भएको छ ।
निर्माण कम्पनी रविना कन्ष्ट्रक्शनसँग पटकपटक स्पष्टीकरण मागिए पनि निर्माणले तीव्रता नपाएको हो । २०७१ असारमा सम्झौता भएकोमा ‘साइड नपाएको’ भन्दै निर्माण कम्पनीले थप रकम भुक्तानी दाबी गरेपछि भएको विवादले थप निर्माणको काम अलपत्र परेको थियो ।
गत भदौमा सम्झौता भएको मेडिकल कलेजको छात्रावासको भौतिक प्रगति २० प्रतिशत मात्रै पुगेको छ । छात्रवास भवन ३८ करोडको लागतमा आशिष–कुमार–केएस जेभीले निर्माण गरिरहेको छ । आवास गृहका लागि भवन निर्माणको काम पनि ५ महीना अघि मात्रै शुरू भएको हो ।
आगामी माघसम्म सम्पन्न गर्नुपर्ने कलेज भवनको काम पनि समयमै सम्पन्न हुने सङ्केत नदेखिएको सम्बन्धित अधिकारीहरू बताउँछन् । ६३ करोड रुपैयाँको लागतमा लुम्बिनी–रमण–केएस जेभीले निर्माण गरिरहेको कलेज भवनको काम ४५ प्रतिशत सम्पन्न भएको छ । १ अर्ब ३ करोड रुपैयाँ लागतको ३ तले अस्पताल भवनको काम भने सबैभन्दा राम्रो देखिएको समितिले बताएको छ । साढे २ वर्षमा सक्ने गरी २०७३ चैतमा शर्मा–राजेन्द्र–कुमार जेभीसँग निर्माण सम्झौता भएकोमा प्रगति भने ५३ प्रतिशत मात्रै देखिएको विकास समितिका कार्यकारी निर्देशक पुजाराले बताए ।