ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ जीवन बीमा कम्पनीको आईपीओ तयारी

Jul 29, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मल्लिका घिमिरे
बीमा समितिबाट अनुमति पाएका ९ जीवन बीमा कम्पनीले आईपीओे जारी गर्ने तयारी गरिरहे पनि अझै समय लाग्ने बताएका छन् । अधिकांश नयाँ कम्पनीले गतवर्षको भदौदेखि नै करोबार शुरू गरेका थिए । यसरी उनीहरूले कारोबार शुरू गरेको १ वर्ष पूरा भइसके पनि नेपाल धितोपत्र बोर्डले १ आर्थिक वर्षको वित्तीय विवरण पेश नभई अनुमति दिँदैन । त्यस्तो वित्तीय विवरण साधारणसभाबाट पारित पनि हुनुपर्छ । त्यसैले, हाल कम्पनीहरू वित्तीय विवरण बनाउन व्यस्त छन् । भदौको आधा–आधीमा वित्तीय विवरण तयार भइसक्ने सम्बन्धित कम्पनीहरूको भनाइ छ । जीवन बीमा कम्पनीहरू सर्वसाधारणलाई आईपीओ जारी गरी बीमा समितिले तोकेबमोजिम न्यूनतम रू. २ अर्ब चुक्तापूँजी पुर्‍याउन लागेका छन् । सर्वसाधारणलाई आईपीओे जारी गर्न कतिपय कम्पनीले प्रारम्भिक वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरिसकेका छन् । यीमध्ये अधिकांशले नियामक निकाय बीमा समितिसमक्ष स्वीकृतिका लागि निवेदनसमेत दिएका छन् । बीमा समितिका उपनिर्देशक साम्बराज लामिछानेले हालसम्म तीन कम्पनीले बीमा समितिबाट आईपीओे निष्कासनको स्वीकृति पनि पाइसकेको बताएका छन् । उनका अनुसार आईएमई लाइफ, ज्योति लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओे निष्कासनका लागि बीमा समितिबाट स्वीकृति पाएका हुन् । बीमा कम्पनीहरूको नियमन बीमा समितिले गरे पनि शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति लिनुपर्ने हुन्छ । युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले कम्पनीले आईपीओे जारी गर्न बीमा समितिबाट स्वीकृति पाए पनि नेपाल धितोपत्र बोर्डले कारोबार भएको १ आर्थिक वर्ष पूरा नभएसम्म आईपीओे जारी गर्न नसक्ने बताएपछि केही समय कुर्नुपरेको जानकारी दिए । युनियनले ६४ लाख ५० हजार कित्ता आईपीओे जारी गर्नेछ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी भने आईपीओेसहितको विविध प्रस्ताव पारितका लागि साधारणसभा गर्ने तयारीमा जुटेको छ । वार्षिक लेखापरीक्षणको काम भइरहेको कम्पनीले बताएको छ । साधारणसभाले पारित गरी बीमा समितिले स्वीकृति दिएपछि आईपीओे निष्कासनको प्रक्रिया अघि बढ्ने जानकारी दिइएको छ । आईएमई लाइफ इन्स्योरेन्स पनि आईपीओे निष्कासनका लागि कारोबार सञ्चालनको १ वर्ष पूरा हुनुपर्ने समयको पर्खाइमा छ । कम्पनीका सहायक प्रबन्ध निर्देशक दिनेश अमात्यले आईपीओे निष्कासनका लागि बीमा समितिबाट स्वीकृति पाए पनि नेपाल धितोपत्र बोर्डले १ वर्षको वित्तीय विवरण सार्वजनिक नभएसम्म आईपीओे जारी गर्न रोक लगाएकाले ढिलाइ भएको बताए । हाल रेटिङको कार्य भइरहेको समेत उनले जानकारी दिए । १ वर्ष कारोबार अवधि पूरा नभएका कारण आईपीओे निष्कासन प्रक्रिया ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पनि थाती राखेको छ । बीमा समितिबाट स्वीकृति पाइसकेकाले बोर्डले तय गरेको अवधि पूरा हुनासाथ प्रक्रियामा जाने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)