ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीबजारमा कम कारोबारको प्रभाव : मोफसलका ब्रोकर शाखा सञ्चालनमा समस्या

Jul 29, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
पूँजीबजारको पहुँच काठमाडौंबाहिरका लगानीकर्तामा पुर्‍याउने उद्देश्यले विभिन्न ठाउँमा खोलिएका ब्रोकर कम्पनीका शाखाको व्यवसाय सन्तोषजनक हुन सकेको छैन । पछिल्लो समय पूँजीबजारमा सुधार नआउँदा लगानीकर्तामा उत्साह घटेकाले समग्र बजारको कारोबारमा कमी आएको छ । काठमाडौंका ५० ब्रोकर कम्पनीले सोचेअनुसारको व्यवसाय गर्न नसकेको अहिलेको अवस्थामा बाहिरका शाखा कार्यालयको व्यवसायसमेत प्रभावित बनेको ब्रोकरहरूले बताएका छन् । बजारमा यस्तै अवस्था भइरहे आगामी दिनमा शाखा कार्यालय सञ्चालन चुनौतीपूर्ण बन्न सक्ने ब्रोकरहरूको अनुमान छ । जुन उद्देश्यले देशका विभिन्न ठाउँमा ब्रोकरका शाखा पुर्‍याइए, ती उद्देश्य केही हदसम्म पूरा भए पनि निरन्तर सञ्चालनमा कठिनाइ हुन सक्ने भन्दै बजार सुधारका लागि तत्काल पहल थाल्न कम्पनीहरूले सम्बन्धित निकायसँग माग गरेका छन् । लगानीकर्तामा पूँजीबजारप्रति अन्योल सृजना हुँदा पछिल्लो समय दैनिक २० करोडको हाराहारीमा मात्र शेयर कारोबार भइरहेको छ । यसले गर्दा राजधानीबाहिरका शाखा कार्यालय सञ्चालनमा समस्या भएको ब्रोकरहरूको गुनासो छ । केन्द्रीय राजधानीमा सञ्चालित ५० ब्रोकर कम्पनीसँगै देशका विभिन्न स्थानमा अहिले ४१ शाखा कार्यालय सञ्चालित छन् । काठमाडौंका ब्रोकर कम्पनीमै कारोबार कम हुँदा बाहिरी जिल्लाको व्यवसाय सन्तोषजनक हुने सम्भावना नरहेको स्टक ब्रोकर नम्बर १६, प्राइमो सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत मेघनाथ न्यौपानेले बताए । प्राइमोले गत चैतमा आदर्शनगर वीरगञ्जमा शाखा विस्तार गरेको थियो । ‘वीरगञ्ज शाखाको व्यवसायबाट नाफा गर्न नसके पनि घाटामै गइसकेका छैनौं,’ उनले भने । आगामी दिनमा पनि बजारको अवस्था यस्तै भए शाखा सञ्चालनमा मुश्किल हुने उनको भनाइ छ । नेप्सेले ल्याएको अनलाइन प्रणालीको पूर्ण परीक्षणपछि कारोबार बढेमा शाखा कार्यालयको व्यवसायमा सुधार आउने अनुमान पनि उनले गरे । धेरै वर्ष पहिले विराटनगरमा शाखा खोलेको स्टक ब्रोकर नम्बर ६, अग्रवाल सेक्युरिटिज प्रालिका प्रबन्धक भुवनेश्वर यादवले पनि शाखाहरूको व्यवसाय घट्नुको मुख्य कारण समग्र धितोपत्र बजारको कारोबारमा कमी आउनु रहेको बताए । ब्रोकर कम्पनीहरूको शाखा विस्तारले शेयरबजारमा लगानीकर्ताको पहुँच बढाए पनि पछिल्लो समय लगानीकर्ताले नाफा कमाउन नसकेको उनको बुझाइ छ । यद्यपि, बजारको अवस्था सुध्रनेमा उनी विश्वस्त छन् । पूँजीबजारबाट नेपालको अर्थतन्त्रमा समेत टेवा पुग्ने हुँदा यसको विकासमा ध्यान दिन उनले सम्बद्ध निकायलाई सुझाए । डेड वर्षअघि बागलुङमा शाखा विस्तार गरेको स्टक ब्रोकर नम्बर ५९, दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रालिका प्रबन्ध निर्देशक रामप्रसाद आचार्यले बागलुङमा पनि अपेक्षित व्यवसाय नभएको गुनासो गरे । उक्त शाखा विस्तार गरेदेखि नै बजारमा लगानीकर्ताको उत्साह घटेको उनको भनाइ छ । यस्तै भइरहे शाखा बन्द गर्नुपर्ने अवस्था आउने उनले अनुमान गरे । काठमाडौंनजीकै रहेको काभ्रेको बनेपामा पनि केही ब्रोकर कम्पनीका शाखा कार्यालय सञ्चालनमा छन् । ती स्थानमा पनि लगानीकर्ताको मनोबल घटेकाले कारोबारमा कमी बताइएको छ । स्टक ब्रोकर नम्बर ३४, भिजन सेक्युरिटिज बनेपा शाखाका प्रबन्धक प्रकाश अधिकारीले लगानीकर्तामा पहिला जस्तो उत्साह नभए पनि शून्य कारोबारको अवस्था भने नरहेको बताए । ‘कम्पनीको राम्रो सेवासुविधाको प्रभावले होला, अहिलेसम्म कार्यालय सञ्चालनमै समस्या भने छैन,’ उनले भने । तर, बजार यसरी नै प्रभावित हुँदै गए समग्र ब्रोकर कम्पनीको जस्तै आफ्नो कम्पनीको पनि व्यवसाय खस्कने अनुमान उनको छ । स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष प्रियराज रेग्मीले शेयरबजारमा लगानीकर्ताको पहुँच बढाउन इण्ट्रानेटको पहुँच पुगेका देशभित्रका केही शहरमा ब्रोकर शाखा विस्तार गरे पनि व्यावसायिक हिसाबले ती शाखा सफल हुन नसकेको स्वीकारे । यसले गर्दा सम्बन्धित ब्रोकर कम्पनीको कार्यालय सञ्चालनमा जोखीम रहेको उनले औंल्याए । देशका धेरै ठाउँमा ब्रोकर शाखाको विस्तारले लगानीकर्ताको सङ्ख्या बढे पनि व्यावसायिक हिसाबले खासै प्रगति नभएको उनको ठम्याइ छ । हाल पूर्ण परीक्षणकै क्रममा रहेको अनलाइन प्रणालीको परीक्षण पूरा भई पूर्ण कार्यान्वयनपछि दोस्रो बजारमा लगानीकर्ताको पहुँच व्यापक रूपमा विस्तार हुने उनले बताए । साथै, अनलाइन प्रणालीले शाखारहित पहुँच विस्तारमा सघाउने अपेक्षासमेत उनले गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)