ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बस्ती संरक्षणका लागि ३ करोड माग

Jul 30, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । जिल्लाको जलजला गाउँपालिका–७ र ८ को बस्ती संरक्षणका लागि ३ करोड ५० लाख रुपैयाँ माग गरिएको छ । गत साउन १ गते राति आएको बाढीले कटान गरेको बस्तीलाई थप कटान हुन नदिन उक्त रकम माग गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको हालै बसेको बैठकले खोलाको कटान नियन्त्रण गर्न सहयोग माग गर्ने निर्णय गरेको हो । बाढी र पहिरोले कटान गरेको क्षेत्रमा भावी जोखीम नियन्त्रणका लागि नदी किनारमा तत्कालै तटबन्ध बनाउनुपर्ने भएकाले गण्डकी प्रदेश तथा सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा उक्त रकम माग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । पहिरोले जलजला–८ को बरनेटा गाउँ विस्थापित भएको छ । लस्तीखोलाको कटानले १ सय २० घर जोखीममा परेका छन् । १२ घर विस्थापित भएर विद्यालयको प्राङ्गणमा आश्रय लिएर बसेका छन् । बस्ती संरक्षण गर्न र खोलाको कटानबाट जोगाउन जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय बागलुङबाट लागत इष्टिमेट तयार गरिएको छ । कार्यालयको इष्टिमेट र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय लिएर गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल र उपाध्यक्ष सीमा गर्वुजा पुन सहयोग माग्दै सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्रालय र विभागमा पुगेका छन् । बाढी र पहिरोले क्षति पुर्‍याएको लस्ती फर्से सिँचाइलगायतका सिँचाइ योजना मर्मतका लागि ३१ लाख १८ हजार रुपैयाँ माग गर्ने निर्णय पनि बैठकले गरेको छ । लस्ती फर्से सिँचाइ योजनामा क्षति पुग्दा ५ सय रोपनी खेत बाँझो रहने सम्भावना छ । सिँचाइमा पुगेको क्षतिका बारेमा सिँचाइ विकास सबडिभिजन पर्वतले लागत इष्टिमेट तयार पारेको थियो । यसैगरी लस्तीबजार, धाइरिङ र बरनेटालगायतका क्षेत्रमा खानेपानी प्रणालीमा पुगेको क्षति मर्मतका लागि ८ लाख ५० हजार रुपैयाँ माग गर्ने निर्णय पनि भएको जलजला–८ का वडाध्यक्ष हरिविकास जिसीले बताए । बाढीबाट विस्थापित भएका बरनेटाका बासिन्दालाई अन्यत्रै सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने सोच रहेको जिसीले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)