मप क्षेत्रीय अस्पताल : जनशक्ति अभावले अस्पताल नै बिरामी
Aug 1, 2018
 
प्रदेश समाचार
सुर्खेत । विकासको बहस हुँदा स्वास्थ्यक्षेत्र पनि मुख्य प्राथमिकतामा पर्छ । देशभरका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्यकेन्द्र, अस्पताल स्थापनाको माग उठ्छ । देशको समृद्धिमा जनस्वास्थ्यको अवस्थाले महत्त्वपूर्ण अर्थ राख्छ । तर, अस्पतालको स्थापनाले मात्र यो आवश्यकता परिपूर्ति हुन नसक्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट बुझ्न सकिन्छ । किनकि, जनशक्ति अभावले यो अस्पतालको सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।
पर्याप्त जनशक्ति नभएकाले अस्पतालबाट चाहेजस्तो सेवा बिरामीले पाउन सकेका छैनन् । क्षेत्रीय अस्पताल भौतिक पूर्वाधारका हिसाबले पछिल्लो समय केही सुधार भए पनि आवश्यकताअनुसार जनशक्ति नहुँदा सेवा प्रवाह असहज बनेको हो । २०६२ सालमा स्तरोन्नति गरी उक्त अस्पताललाई जिल्लाबाट क्षेत्रीयस्तरको बनाइएको थियो । यतिका वर्ष बितिसक्दा पनि नामअनुसारको सेवासुविधा दिन नसक्दा सेवाग्राही निराश हुन थालेका छन् ।
भौतिक पूर्वाधार, जनशक्ति र अन्य साधनस्रोतको अभावले सेवा सञ्चालनमा समस्या भएको अस्पतालमा कार्यरत डाक्टरहरूले गुनासो गरे । अस्पतालमा २ दर्जनभन्दा बढी डाक्टरको दरबन्दी रहे पनि हाल आधा दर्जन डाक्टर मात्र कार्यरत छन् । अस्पतालमा अत्यावश्यक सेवाका लागि डाक्टर नै छैनन् । ‘नेपालकै चर्चित डाक्टरलाई ल्याए पनि यहाँ काम गर्न सक्दैनन्,’ क्षैत्रीय अस्पतालका एक कर्मचारी भने, ‘भौतिक पूर्वाधार, जनशक्ति तथा आवश्यक उपकरणको व्यवस्था नभई अस्पतालबाट स्तरीय सेवा सञ्चालन हुन सक्दैन ।’
कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि क्षेत्रीय अस्पताल आउने गर्छन् । नयाँ सेवा थपिए पनि जनशक्ति नहुँदा बिरामीले पाउन सकेका छैनन् । ‘१२ वर्षअघिकै जनशक्तिले अहिले पनि काम चलाउनुपरेको छ,’ निमित्त मेडिकल सुपरिण्टेण्डेण्ट डम्मर खड्काले भने, ‘भएका कर्मचारी पनि सबै आउँदैनन् ।’
अस्पतालमा अहिले साधारणतर्फ ८८ र समितिमार्फत ४७ जना कर्मचारी छन् । अस्पतालमा आईसीयू, एनआईसीयू, मुटु रोगसम्बन्धी र डायलासिस सेवा उपलब्ध भए पनि सबै बिरामीले समयमै सेवा पाउन सकेका छैनन् ।
बिरामीको चाप बढ्यो
वर्षा शुरू भएसँगै उक्त अस्पतालमा बिरामीको चाप बढेको छ । झाडापखाला, ज्वरो तथा पेटको समस्याका बिरामी बढेको अस्पतालका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले बताए । उनका अनुसार दैनिक सयदेखि डेढ सयसम्म बिरामी बहिरङ्ग विभागमा आउने गरेका छन् । ‘गर्मी तथा वर्षायाम रोगका जीवाणुका लागि अनुकूल समय हो,’ उनले भने, ‘यो बेला जीवाणु सक्रिय रहने भएकाले सानो लापरबाहीले पनि मानिसलाई आक्रमण गर्न सक्छ ।’ यो मौसममा स्वच्छ खानपिन र सरसफाइमा ध्यान दिन उनले सुझाए ।