ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रविधिको चामत्कारिक फड्को : चीनमा याण्ट फाइनान्सियलले ल्याएको आर्थिक क्रान्ति

Aug 6, 2018  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । अमेरिकी अनलाइन ट्याक्सी सेवाप्रदायक कम्पनी यूबरले विश्वका कयौं स्थानमा परम्परागत ट्याक्सी सेवा व्यवसायलाई लगभग विस्थापित गरिदियो । अहिले विश्वका अधिकांश देशमा यस्तै खालका स्वदेशी अनलाइन ट्याक्सी सेवा कम्पनी खुलेका छन् । अनलाइन स्ट्रिमिङ सेवा प्र्रदायक नेट्फिल्क्सले परम्परागत टीभी च्यानलको दुनियाँमा अत्याधुनिक परिवर्तन नै ल्याइदियो । चीनको एक वित्तीय सेवा प्रदायक कम्पनीले पनि चीनको परम्परागत बैङ्किङ प्रणालीलाई विस्थापित गरिरहेको छ । त्यो हो– चिनियाँ अनलाइन कम्पनी अलिपापासम्बद्ध कम्पनी याण्ट फाइनान्सियल सर्भिसेज (एएफएस) ग्रूप । चिनियाँ अर्बपति ज्याक माले सन् २०१४ मा स्थापना गरेको यो स्टार्टअप कम्पनी अहिले विश्वको सबैभन्दा मूल्यवान् कम्पनीमध्ये एक बनिसकेको छ । यो अहिले विश्वकै सबैभन्दा ठूलो वित्तीय प्रविधि (फिन्टेक) कम्पनी पनि हो । यसले नवप्रवर्तनका माध्यमबाट इन्स्योरेन्सलगायत वित्तीय सेवा मोबाइल फोनबाट दैनिक उपभोग्य वस्तु किनेजस्तै सहज बनाइदिएको छ । यसले चीनको शहरी क्षेत्रमा मात्रै होइन, ग्रामीण भेगमा पनि मानिसलाई नगदविनै हप्तौं दैनिक जीवन निर्वाह गर्न सक्ने बनाएको छ । गतवर्ष याण्ट फाइनान्सियलबाट अमेरिकी वित्तीय सेवा प्रदायक माष्टरकार्डबाट भन्दा बढी भुक्तानी भएको थियो । यसले दशौं करोड मानिसलाई कर्जा पनि दियो । यसको अनलाइन पेमेण्ट प्लेटफर्मले सन् २०१७ मा ८० खर्ब डलरभन्दा बढी मूल्यको कारोबार गर्‍यो । यो यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को दोब्बरभन्दा बढी हो । तर, यस सफलताले अन्य असर पनि ल्याएको छ । चीनलाई अहिले नै भीमकाय फिण्टेक कम्पनीको विघटनकारी शक्तिबारे सोच्ने दबाब पनि बढेको छ । याण्टले आफूहरूको डिपोजिटसमेत गैरकानूनी ढङ्गले लगेको, उच्च ब्याजदर तिर्न बाध्य पारेको र शाखा तथा एटीएम काउण्टर नै बन्द गर्नुपर्ने स्थिति आएको भन्दै चिनियाँ बैङ्कहरूले गुनासो गरेका छन् । राज्य नियन्त्रित टीभी च्यानलको एक कार्यक्रममा एक टिप्पणीकारले त याण्टको मनी–मार्केट फण्डलाई ‘बैङ्कहरूको रगत चुसिरहेको पिशाच’ भन्ने सङ्ज्ञासमेत दिए । एएफएसको बढ्दो आकारसँग चिनियाँ अधिकारीहरूमा पनि असहजता बढिरहेको छ । सरकारकै प्रोत्साहनपछि याण्टले ‘चमा’ नामक राष्ट्रिय क्रेडिट–स्कोरिङ प्रणाली बनाउने प्रयास गरिरहेको थियो । तर, सरकारले पाइहाङ क्रेडिट स्कोरिङ ल्यायो र आफ्नै क्रेडिट–स्कोरिङ प्रणाली बनाउने याण्टको १ वर्ष लामो प्रयासलाई खत्तम गरिदियो । सरकारको उक्र प्रयासले केन्द्रीय बैङ्कले कर्जा दिने संस्थाहरूले याण्ट फाइनान्सियलको प्रणाली प्रयोग गर्ने अवस्था आउनबाट कुशलतापूर्वक रोकिदियो । नियामकहरूले ठूला मनी–मार्केट फण्ड ‘निकै विशाल’ बन्दै गएको भन्दै तिनीहरूको ‘हार्ड–टु–सेल एसेट्स’ स्वामित्व घटाउनेसम्बन्धी नियम जारी गरिदिएका थिए । मुद्रा कोषमा रकम प्रवाह सुस्त बनाउन नियामकहरूले याण्टमाथि दबाब पनि बढाएका छन् । यी सबैले याण्टप्रति अधिकारीहरूको बढ्दो असहजता छर्लङ पारेको छ । भीमकाय याण्ट फाइनान्सियल चिनियाँ अधिकारीहरूले याण्ट फाइनान्सियललाई होल्डिङ कम्पनीको रूपमा हेर्ने कि नहेर्ने भन्नेबारे पनि सोचिरहेका छन् । अधिकारीहरूले बैङ्ककै शैलीमा याण्ट फाइनान्सियललाई पनि निर्धारित पूँजी व्यवस्था पूरा गर्न आदेश दिएका छन् भनेर यस मामिलाबारे जानकारले बताएको भन्दै वाल स्ट्रिट जर्नलले मे महीनामा नै समाचार पनि छापेको थियो । यस्तो आदेशले याण्टको मुनाफामा असर गर्नेछ । गतवर्ष करीब १० अर्बबराबरको आम्दानीमा कम्पनीको करपूर्वको नाफा २ अर्ब डलर थियो । गत जुनमा निजीक्षेत्रको कम्पनी याण्ट फाइनान्सियलको कागजमा मूल्याङ्कन १ खर्ब ५० अर्ब डलर पुगेको सार्वजनिक भयो । यो खबरले लगानीकर्ताहरू आश्चर्यमा परे । किनकि, कम्पनीको यो मूल्याङ्कन कम्पनीमा लगानी जुटाउन सन् २०१६ मा भएको फण्डिङ राउण्डको तुलनामा दोब्बर थियो भने अमेरिकी बहुराष्ट्रिय लगानी बैङ्क र वित्तीय सेवा प्रदायक कम्पनी गोल्डम्यान श्याख्स ग्रूपको भन्दा बढी थियो । ‘वर्षौंसम्म चिनियाँ अधिकारीहरूले आँखा चिम्म गरेर बसे अनि तिनीहरूलाई बढ्न सक्नेसम्म बढ्न दिए,’ तिशुङ्हवा विश्वविद्यालयका नेशनल इन्ष्टिच्युट अफ फाइनान्सियल रिसर्चका उपनिर्देशक चु निङले भने । उनको यस अभिव्यक्तिमा याण्टले वित्तीय प्रणालीमा उत्पन्न गराउन सक्ने जोखीमबारे नियामकलाई दिएको चेतावनी बेवास्ता गरिएको प्रस्टै झल्किएको थियो । बृहत् नियमनकारी ढाँचाबाट त्यति ठूलो वित्तीय सङ्गठन चिप्लिनु अविश्वसनीय भएको समेत चुको भनाइ छ । पीबीओसीको उप–गभर्नरले पनि हालै याण्ट फाइनान्सियलको नाम उल्लेख नगरीकनै भुक्तानी व्यवसायमा संलग्न केही प्रभावशाली कम्पनीले आफूलाई ‘नियमन नै गर्न नमिल्ने गरी ठूला हौं’ भन्ने सोच्न नहुने चेतावनीसमेत दिएका छन् । निरीक्षणविनै कम्पनीले बैङ्कको जस्तै व्यवहार गरिरहेको भन्ने भनाइको याण्ट फाइनान्सियलका कार्यकारीहरूले भने खण्डन गरेका छन् । बैङ्कले बेवास्ता गरेका आम जनतासामु आफूहरूले वित्तीय सेवा ल्याएको मात्रै हो भन्ने तर्क उनीहरूको छ । बढीभन्दा बढी खुद्रा विक्रेतालाई आफ्नो पेमेण्ट प्रणाली सेवा प्रयोग गर्न लगाएर याण्टले सीमापारका बजारमा पनि आफ्नो व्यवसाय विस्तार गरिरहेको छ । तर, चीनमा जस्तै विश्व बजारमा भने सफलता हासिल गर्न यसलाई निकै कठिनाइ भइरहेको छ । यो वर्षको शुरूमा अमेरिकाको राष्ट्रिय सुरक्षासम्बन्धी एक समितिले याण्टको अमेरिकी मनी ट्रान्सफर कम्पनी मनीग्राम इण्टरनेशनल किन्ने प्रस्ताव अस्वीकार गरेपछि कम्पनीले सो प्रयास नै बन्द गर्‍यो । सरकारी नियमन बढ्ने देखेपछि हालैका महीनामा चिनियाँ ई–कमर्श कम्पनी जेडी डट कम र सर्च इञ्जिन पाइतु इङ्क जस्ता कम्पनीहरूले सहयोग गरेका फिण्टेक स्टार्टअपले सीधै वित्तीय सेवा नदिने, तर आफ्नो कम्पनीलाई परम्परागत कम्पनीको वित्तीय भुक्तानीमा प्रयोग गर्न मिल्ने मञ्चको रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । याण्टले पनि गरेको त यही हो । कम्पनी वित्तीय व्यापारिक समूहकै रूपमा चिनियोस् भन्ने चाहना याण्ट फाइनान्सियलको पनि छ । ‘चीनमा यस्तो रणनीतिक परिवर्तन सामान्य हो,’ याण्टका पूर्व कार्यकारी तथा फिण्टेक कम्पनी क्यामेल फाइनान्सियलका संस्थापकसमेत रहेका कार्सन हुआङ मिहानले भने । इलाइन वाङ्लगायतका उपभोेक्ताले याण्टको वास्तविक शक्ति झल्काएका छन् । शाङ्हाईका ३० वर्षीय मार्केटिङ म्यानेजर वाङले चाइना मर्चेण्ट्स बैङ्कको खातामा रहेको आप्mनो एक तिहाइ तलब याण्टको इन्भेष्टमेण्ट प्रडक्टमा सार्ने गरेकी छिन् । कफी किन्नेलगायत दैनिक हुने खरीद कार्य उनी याण्ट फाइनान्सियलको भुक्तानी सेवा प्रदायक मञ्च अलिपेबाटै गर्छिन् । अहिले ६२ करोडभन्दा बढीले भुक्तानीका लागि अलिपेको प्रयोग गरिरहेको बताइन्छ । हाङचाउमा याण्टको अङ्ग्रेजी वर्णमालाको अन्तिम अक्षर जेड् आकारको शिशाले बनेको कम्प्लेक्स छ । त्यहाँ कर्मचारीहरूलाई भुइँतिर निहुरेर हेरेको रातो रङको एक नग्न मानिसको मूर्तिले अभिवादन गर्दछ । भवनभित्र छिर्दा डिजिटल क्यामेराले कर्मचारीको अनुहार स्क्यान गर्छ । बैठक कक्षको बूकिङ रूममा निर्धारित समयमा कुनै प्रयोगकर्ता आइपुगेन भने सो स्थान अर्कोले लिन सक्छ भन्ने लेखिएको छ । कम्पनीमा हरेक कर्मचारीले आफ्नो नाम प्रयोग गर्दैनन्, उपनाम प्रयोग गर्छन् । यस्ता अधिकांश नाम कुङ्फु उपन्यासका पात्रका नामबाट प्रेरित छन् । कर्मचारीहरूलाई आप्mनो सहकर्मीको नाम नै थाहा हुँदैन । कसरी बन्यो याण्ट फाइनान्सियल ? सन् २००४ मा अलिपापाले अनलाइन शपिङलाई दृष्टिगत गरेर ल्याएको अलिपे नै अहिलेको याण्ट फाइनान्सियल हो । अलिपेको वृद्धिसँगै यसलाई वित्तीय प्रणालीमा विकास गर्न सकिन्छ भन्ने महसूस गरेर नै माले यसलाई छुट्टै कम्पनीका रूपमा विकास गरेका थिए । सन् २००८ को डिसेम्बर ताका चिनियाँ बैङ्कहरूले साना व्यवसायलाई बेवास्ता गरेका थिए । साना व्यवसायको वृद्धि विकासमा पर्याप्त काम नगरेपछि बैङ्कको कार्य प्रणालीलाई नै परिवर्तन गर्ने प्रतिबद्धता सन् २००८ मा भएको आन्त्रप्रेनरशिप कन्फ्रेन्समा माले गरेका थिए । अधिकारीहरूले भुक्तानी व्यवसाय सञ्चालन गर्न नयाँ लाइन्सेन्स चाहिने बताएपछि सन् २०१० मा माले अलिपेलाई अलिपापाबाट अलग्याए । सन् २०१३ मा कम्पनीले अलिपेमा त्यसै रहेर बसेको उपभोक्ताको पैसा अनलाइन मनी–मार्केट फण्डमा थुुपारेर आयआर्जनको मौका दिने अवधारणा ल्यायो । यो कोषको नाम यु’ई पाओ थियो, जसको अर्थ हुन्छ ‘उब्रेको सम्पत्ति’ । यसमा अलिपे प्रयोगकर्ताले थोरैमा शून्य दशमलव शून्य १ युआन (शून्य दशमलव शून्य शून्य १५ सेण्ट)सम्म लगानी गर्न पाउँथे र कुनै शुल्कविना रकम राख्न र झिक्न पनि पाउँथे । यो कोषले छोटो अवधिको निक्षेपमा बैङ्कले दिनेभन्दा बढी प्रतिफल दिने भएपछि २०१३ को जुनमा यो सेवा शुरू भएको केही दिनमै १० लाखभन्दा बढीले सो कोषमा आफ्नो पैसा राखे । सो पैसालाई जोखीमयुक्त, तर उच्च प्रतिफल दिने प्रडक्टमा लगाएर यु’ई पाओले बढी प्रतिफल सृजना गर्थ्यो । अलिपेको लोकप्रियता देखेर सम्पत्तिको आधारमा चीनको सबैभन्दा ठूलो बैङ्क ‘इण्डष्ट्रियल एण्ड कमर्शियल बैङ्क अफ चाइना’ले एकल कारोबारमा अलिपे प्रयोगकर्ताले झिक्न पाउने रकममा उच्च कटौती गर्‍यो । सन् २०१४ तिर यु’र्ई पावो परम्परागत बैङ्कका लागि ठूलो झट्का थियो । किनकि, निक्षेपकर्ताले परम्परागत बैङ्क खातामा रहेको आप्mनो रकम झिकेर यु’ई पाओमा राख्न थाले । केही बैङ्कहरूले त यु’ई पाओको नाममा ‘कमर्शियल पेपर’ नै जारी गरे । २०१४ मा ज्याक माले अलिपेलाई याण्ट फाइनान्सियलको रूपमा रिब्राण्डेड गरे । त्यतिबेला मा अलिपापाको अध्यक्ष मात्रै थिए, प्रमुख कार्यकारी पद छोडिसकेका थिए । यस क्रममा याण्टलाई व्यक्तिगत कर्जा, साना–व्यवसायी कर्जा, क्रेडिट स्कोरिङ र बीमा प्रडक्टमा विकास गर्ने योजना पनि ल्याइयो । चीनमा स्मार्टफोनको प्रयोगमा भइरहेको तीव्र प्रयोगको लाभ समेत कम्पनीलाई मिल्यो । (इण्टरनेटमा उपलब्ध स्रोतहरूको सहयोगमा )
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)