रुकुम । विगत १ महीनादेखि रुकुम उद्योग वाणिज्य सङ्घमा गरिएको तालाबन्दी अझै खुल्न सकेको छैन । अधिवेशनको क्रममा विवाद हुँदा उद्योगीहरू तथा व्यवसायीहरूको प्रगतिशील प्यानलले तालाबन्दी गरेको थियो ।
गत असार २२ गते सङ्घको अधिवेशन उद्घाटन कार्यक्रम रोकेर राजन पुन नेतृत्वको प्रगतिशील प्यानलले तालाबन्दी गरेको थियो । सङ्घको आयव्यय सार्वजनिक गर्नुपर्ने माग गदै कार्यालयमा तालाबन्दी गरेको प्रगतिशिलका उम्मेदवार पुनले बताए । उनले भने, ‘सङ्घको आन्तरिक आयव्यय र रुकुम महोत्सव २०७४को आयव्यय सार्वजनिक नभएसम्म ताला खुल्दैन ।’
प्रगतिशीलले चुनावमा हार्ने निश्चित भएपछि अधिवेशन रोकेर कार्यालयमा तालाबन्दी गरेको संयुक्त प्यानलका अध्यक्ष नवराज गिरीले आरोप लगाए । तर, पुन प्यानलको प्रगतिशील प्यानलले भने अधिवेशनमा लैजाने आयव्यय कार्य समितिमा सार्वजनिक गर्नुपर्ने अडान राख्दै आएको छ ।
गत जेठ २ गते सङ्घका वर्तमान कार्यसमितिको पदावधि सकिने भएपछि वैशाख २५ गते बैठक बसेर असार २२ गते अधिवेशन गर्ने मिति तय गरिएको थियो । प्रगतिशिल प्यानलका अध्यक्ष पुन वर्तमान कार्यसमितिका कोषाध्यक्ष हुन् । कोषाध्यक्षले आर्थिक प्रतिवेदन तयार पारेर सार्वजनिक गर्नुको साटो कार्यालयमा तालाबन्दी गर्नु गैरजिम्मेवार काम भएकोसङ्घका अध्यक्ष टेकबहादुर पुनले बताए । कोषाध्यक्ष पुनले सङ्घको आर्थिक विवरण अध्यक्षले मनोमानी तरीकाले तयार पारेको र आफूलाई जानकारी नभएको आरोप लगाएका छन् ।
मारमा व्यापारी
सङ्घको कार्यालय १ महीनादेखि बन्द रहँदा स्थानीय व्यापारी मारमा परेका छन् । विशेषगरी साउन मसान्तभित्र उद्योगी तथा व्यापारीले कारोबारको अडिट गर्ने, कर बुझाउने र नवीकरण गर्नुपर्ने अवस्थामा कार्यालयमा तालाबन्दी गरेपछि समस्या परेको स्थानीय व्यापारी नवीन खड्काले बताए ।
कार्यालयले आन्तरिक राजस्व कार्यालयको समन्वयमा अनलाइन कर बुझाउने काम गर्दै आएको थियो ।