रुकुम । रुकुमको मुसीकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमूना माविमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । विद्यालयमा खस्कँदै गएको शैक्षिक गुणस्तर सुधारका लागि सीसीटीभी क्यामेरा जडान गरिएको प्रधानाध्यापक दामोदर गौतमले बताए । ‘शिक्षक, विद्यार्थी र विद्यालयको हाताभित्र हुने कुनै पनि गतिविधिको निगरानी सीसीटीभी क्यामेराबाट गर्दै आएका छौं,’ उनले भने, ‘प्रविधिको प्रयोगमार्फत शैक्षिक गुणस्तर बढाउने लक्ष्य छ ।’
विद्यालयमा आठओटा सीसीटीभी क्यामेराबाट चार कक्षासहित विद्यालय प्राङ्गण, लेखाशाखा, कम्प्युटर कक्ष र कार्यालय कोठाको निगरानी गरिँदै आएको छ । विद्यालयले बालशिक्षा, कक्षा १, कक्षा १० को ‘ए’ र ‘बी’ सेक्शनलाई पनि सीसीटीभी क्यामेराको निगरानीमा राखिएको छ । छिट्टै सबै कक्षाकोठामा सीसीटीभी जडान गर्ने विद्यालयको योजना छ ।
विद्यालयमा सीसीटीभी क्यामेरा जडान गरिएपछि शिक्षक, विद्यार्थी, कर्मचारी र आगन्तुक सचेत भएको प्रअ पौडेलको भनाइ छ । सीसीटीभी क्यामेरा जडानपछि विद्यालयका सबै गतिविधि ‘रेकर्ड’ हुने भएकाले विद्यालय अनुगमनमा आउने निकायलाई पुराना गतिविधि देखाउन सकिएको उनले बताए । विद्यालयले डिजिटल हाजिरी पनि शुरू गरेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको हाजिरी डिजिटल मेशिनमार्फत राख्न थालिएको हो ।
शिक्षक तथा कर्मचारी विद्यालय आउने तर घर जाने समयमा अनियमित हुने प्रवृत्ति बढेपछि डिजिटल हाजिरी शुरू गरिएको विद्यालयले बताएको छ । विद्यालयले मुसीकोट नगरपालिका–५ को वडा कार्यालयको १ लाख ५० हजार सहयोगमा सीसीटीभी क्यामेरा र डिजिटल हाजिरी मेशिन जडान गरेको हो । बत्ती नहुँदा पनि सोलार प्रणालीबाट सीसीटीभी क्यामेरा र डिजिटल हाजिरी मेशिन सञ्चालन हुने विद्यालयले बताएको छ । विद्यालयका तल्ला कक्षामा यसअघि नै प्रोजेक्टरको सहयोगमा पठनपाठन हुँदै आएको छ । सीसीटीभी क्यामेरा, डिजिटल हाजिरी मेशिन र प्राजेक्टरको प्रयोग विद्यालयको शैक्षिक गुणस्तर बढाउन सहयोगी हुने अपेक्षा गरिएको छ ।