ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनलाइन ट्रेडिङमा लगानीकर्ताको उत्साह देखिएन

Aug 12, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
साउन १ देखि पूर्ण परीक्षण थालिएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा जोडिन लगानीकर्तामा अझै उत्साह देखिएकोछैन । लामो समयदेखि गति लिन नसकेको शेयरबजार अनलाइन ट्रेडिङ शुरू भएपछि पुनः उँभो लाग्ने आशा गरेका लगानीकर्ता यो प्रणाली अझै परीक्षणमै रहेकोमा निराश बनेका हुन् । साउन ६ गतेदेखि नै सबै ब्रोकर कम्पनीको प्रणालीसमेत ट्रेड म्यानेजमेण्ट सिष्टम (टीएमएस)सँग आबद्ध भइसकेको भन्दै नेप्सेले सम्पूर्ण लगानीकर्तालाई आ–आफ्नो दलाल व्यवसायीमार्फत युजर नेम र पासवर्ड लिई नयाँ अनलाइन कारोबार प्रणालीमा जोडिन आह्वान गरेको थियो । यद्यपि, यसका लागि लगानीकर्ताले खासै सोधपुछ नगरेको ब्रोकर कम्पनीहरू बताउँछन् । स्टक ब्रोकर नम्बर ४१, लिञ्च स्टक मार्केटमा भेटिएका नवीन प्रसाईंले बजारको अवस्थाले निराश बनाएकाले अनलाइन प्रणालीमा जोडिन इच्छा पनि नलागेको बताए । बजार सुधारका लागि तरलताको समस्या हट्दै गएको र ब्याजदरमा कमी आइरहेको अवस्थामा बजार बढ्ने आधार देखिए पनि बजारले गति लिन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । ‘यो अवस्थामा न शेयर बेच्न सकेको छु न किन्न,’ उनले भने, ‘बेचूँ भने घाटा खाएर के बेच्नु, किनौं भने दिनप्रतिदिन घट्दै गरेको बजारमा अन्योल छ ।’ सधैं ब्रोकर अफिस आए पनि कारोबारमा भने सहभागी नभएको उनको भनाइ छ । लिञ्च स्टक मार्केटकी कर्मचारी शोभा बोहराले आफ्नो कार्यालयबाट कारोबार गर्ने सबै लगानीकर्तालाई नयाँ अनलाइन प्रणालीको बारेमा जानकारी भए पनि उनीहरूले यससँग जोडिन भने खासै इच्छा नदेखाएको बताइन् । ‘अहिले परीक्षणका क्रममा लगानीकर्ता युजर नेम र पासवर्ड लिएर यो प्रणालीमा आबद्ध भए पनि आफै कारोबार गर्न नसक्ने भएर पनि इच्छा नदेखाएको हुन सक्छ,’ उनले भनिन् । अहिले यस प्रणालीसँग आबद्ध भएकाहरूले पनि सेमी अनलाइन, एसएमएस र फोनमार्फत नै अर्डर बूक गराउने र नयाँ प्रणालीमा ब्रोकरले नै अर्डर बूक गराउने गरेको उनले जानकारी दिइन् । स्टक ब्रोकर नम्बर २२, सिप्रबी सेक्युरिटिजमा उक्त कारोबार गर्ने भए पनि साथीसँग लिञ्च स्टक मार्केटमा आएका सिनामङ्गलका फणीन्द्र ज्ञवाली पनि अनलाइन प्रणालीमा आबद्ध भएका छैनन् । ब्रोकरबाट युजर नेम र पासवर्ड लिन आग्रह गर्दै फोन आए पनि आफूलाई खासै मन नलागेको उनी बताउँछन् । ‘अहिलेको अवस्थामा को लगानीकर्ता सन्तुष्ट होलान् त ?’ उनले आफैसँग प्रश्न गरे, ‘मनमा दिनदिनै निराशा छाएको छ, के उद्देश्यले अनलाइन प्रणालीमा आबद्ध हुनु ?’ पूँजीबजारमा भित्रिएका प्रविधिलाई उत्साहका साथ लिएका लगानीकर्ताले नयाँ अनलाइन प्रणालीमा आबद्ध हुन भने खासै चासो नदेखाएको स्टक ब्रोकर नम्बर १६, प्राइमो सेक्युरिटिजका कर्मचारी कृष्ण पौडेलको भनाइ छ । यसअघिको सेमी अनलाइनमा आफ्नो कम्पनीमा ६० हजार लगानीकर्ता आबद्ध भएको जानकारी उनले दिए । नयाँ अनलाइन प्रणालीमा हालसम्म बढीमा ३ सय जना आबद्ध भएको उनले बताए । नेपाल स्टक एक्सचेञ्जले भिœयाएको नयाँ अनलाइन कारोबार प्रणालीमा अहिले लगानीकर्तालाई प्रयोग गर्न सिकाउने प्रक्रिया मात्र भइरहेको नेप्से प्रमुख चन्द्रसिंह साउदको भनाइ छ । लगानीकर्ता बजारको अवस्था देखेर निराश भई युजर नेम र पासवर्ड लिन उत्साही नभएको साउदले समेत स्वीकारे । तर, अनलाइन प्रणालीले लगानीकर्ताको मागबमोजिम काम गर्ने भन्दै उनले नेप्से सोही उद्देश्यले अघि बढेको पनि बताए । अहिले युजर नेम र पासवर्ड लिएका लगानीकर्ता आफैले अनलाइनमार्फत कारोबार गर्न पाउने सुविधा नभए पनि चाँडै त्यो व्यवस्था हुनेमा विश्वस्त रहन उनले आग्रह गरे । उक्त प्रणालीमा थप्नुपर्ने आवश्यक विषयमा पछिल्लो समय भेण्डर कम्पनीसँग छलफल चलिरहको जानकारी उनले दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)