ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्रेडिङको सीमाले विद्यार्थी अन्योलमा

Aug 16, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
प्रवेश परीक्षाका लागि फारम भर्न कलेज पुगेका विद्यार्थी आफ्नो ग्रेड नपुगेका कारण निराश हुँदै फर्किन बाध्य भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमध्ये कान्तिपुर सिटी कलेजले प्रत्येक दिन चार–पाँचजना विद्यार्थीे गेटबाटै फिर्ता पठाइरहेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएको बानेश्वरस्थित युनिग्लोब कलेजको पनि उस्तै अवस्था छ । कलेजका प्राचार्य नरबहादुर विष्टका अनुसार पोखरा विश्वविद्यालयको प्रावधानबमोजिम हरेक विषयमा कम्तीमा सी ग्रेड ल्याएका विद्यार्थीलाई मात्र कलेजले स्नातकमा भर्ना लिएको छ । ‘सरकारको फेल नगर्ने नीति भएपछि ल्याएको ग्रेडिङ प्रणालीले त झन् विद्यार्थीलाई चाहेजस्तो विषय पढ्नबाट रोकेको छ,’ उनले भने, ‘डी ग्रेडभन्दा तल प्राप्ताङ्क ल्याएका विद्यार्थीले पोखरा विश्वविद्यालयमा स्थान नपाउने स्थिति छ ।’ विश्वविद्यालयले जीपीए (ग्रेड प्वाइण्ट एभरेज) तोकेको भए भर्नामा सजिलो हुनुका साथै विद्यार्थी अन्योलमा नपर्ने उनको भनाइ छ । यो त केही कलेजमा आएका विद्यार्थीको उदाहरण मात्र हो । यस्तो भोगाइ विश्वविद्यालयपिच्छेका कलेजमा धाउने गरेका विद्यार्थीको छ । कति ग्रेडिङ आएकाले के पढ्ने भन्नेबारे स्पष्ट प्रावधान र जानकारी नहुँदा धेरै विद्यार्थी अलमलमा परेका छन् । यति बेला स्नातक तहमा भर्नाको सिजन हो । एकातिर कम ग्रेडिङका कारण विद्यार्थीले आफूले चाहेको विषय तथा सङ्काय अध्ययन गर्न पाएका छैनन् भने अर्कोतर्फ उनीहरूको समय कलेज धाएर यसबारे बुझ्नमै खेर गएको छ । विश्वविद्यालयपिच्छे ग्रेडिङअनुसार अध्ययनको प्रावधान नेपाल सरकारले ग्रेडिङ प्रणाली ल्याए पनि सबै विश्वविद्यालयमा विषयगत अध्ययनका लागि ग्रेडिङमा एकरूपता भने छैन । विश्वविद्यालयअनुसार विषय छनोटका लागि फरक फरक ग्रेडिङ प्रणालीले गर्दा यति बेला स्नातक भर्ना हुन चाहने विद्यार्थी रनभुल्लमा परेका हुन् । समग्रमा वा विषयगत रूपमा ए प्लसदेखि सी प्लससम्मको ग्रेडिङ प्राप्त गरेका विद्यार्थीले जुनसुकै विश्वविद्यालयमा अध्ययन गर्ने अवसर छ । तर, यसभन्दा तलका ग्रेड प्राप्त गर्ने विद्यार्थीका लागि सहज छैन । नेपाल परीक्षा बोर्डले कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि लिएकोे थियो । यसको नतीजा यही साउन १७ गते सार्वजनिक ग¥यो । बोर्डले यस वर्ष नियमिततर्फ करीब ३ लाख र आंशिकतर्फ करीब १ लाख १४ हजार विद्यार्थीको परीक्षाफल ग्रेडिङको आधारमा प्रकाशित गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । तर, बोर्ड र विश्वविद्यालयबीचको साझेदारी नहुँदा कुन ग्रेड ल्याएकाले कुन विषय र कहाँ पढ्ने भन्ने तय हुन सकेको छैन । बोर्डका अध्यक्ष पौडेलका अनुसार बोर्डले ग्रेडिङअनुसार परीक्षा निकाल्यो तर विश्वविद्यालयले आ–आफ्नो हिसाबले सङ्कायअनुसार प्रावधान तोकेर भर्ना गर्न थालेका छन् । त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त कलेजले विज्ञान, बीबीए, इञ्जिनीयरिङ, मेडिसिनलगायतमा सी प्लस वा सी ग्रेडसम्म ल्याउनुपर्ने प्रावधान राखेका छन् । त्रिभुवन विश्वविद्यालयले भने व्यवस्थापन सङ्काय अध्ययनका लागि कक्षा ११ र १२ मा डी प्लस वा सोसरहको ग्रेड ल्याउनुपर्ने प्रावधान राखेको छ । मानविकी सङ्कायका लागि डी प्लस हुनुपर्ने प्रावधान छ । यस्तै, पोखरा विश्वविद्यालयको सम्बधन प्राप्त कलेजमा अध्ययन गर्न विद्यार्थीले अनिवार्य रूपमा हरेक विषयमा सी ग्रेड ल्याएको हुनुपर्छ । काठमाडौं विश्वविद्यालयमा भर्ना हुन भने सी प्लस ल्याएको हुनुपर्छ ।

ग्रेडवृद्धि गर्न चाहनेका लागि अझै मौका कुन ग्रेड आएकाले मौका परीक्षा दिई ग्रेडवृद्धि गर्न पाउने, कस्तो नतीजा आएका विद्यार्थीले अर्को वर्ष परीक्षा दिनुपर्ने र कस्तो ग्रेडले ट्रान्सक्रिप्ट, माइग्रेशन, प्रोभिजनल जस्ता सर्टिफिकेट निकाल्न पाउने भन्नेबारे विद्यार्थीमा स्पष्ट जानकारी नभएको गुनासो कलेजका शिक्षकबाट सुनिएको छ । कक्षा १२ को कुनै पनि एउटा विषयमा डी, डी प्लस अथवा ई ग्रेड आएको छ भने पूरक परीक्षामार्फत ग्रेड बढाएर अध्ययन गर्न पाइनेछ । ग्रेडिङ वृद्धि गर्न चाहने कक्षा १२ का विद्यार्थीले चाहेमा २०७५ भदौ १६ गतेसम्म राष्ट्रिय परीक्षा बोर्ड सानोथिमीमा आवेदन फारम भरेर बुझाई पूरक परीक्षा दिन पाउने बोर्डका अध्यक्ष पौडेलले जानकारी दिए । सो परीक्षाको परीक्षाफल भदौभित्रै प्रकाशन गरिने उनले बताए । उनका अनुसार डी ग्रेड आएको विद्यार्थीले पनि ए प्लस, ए, बी प्लस, बी, सी प्लस, वा सी ग्रड नतीजा ल्याएका विद्यार्थीसरह सर्टिफिकेट (प्रमाणपत्र) निकाल्न पाउँछन्, तर ट्रान्सक्रिप्ट निकालिसकेपछि पूरक परीक्षा दिएर ग्रेडिङ बढाउन भने पाउँदैनन् । ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी तथा डी प्लस र डी आएका विद्यार्थीले नतीजा प्रकाशन भएको मितिले २१ दिनपछि मात्र प्रमाणपत्रहरू (ट्रान्सक्रिप्ट, माइग्रेशन, प्रोभिजनल) प्राप्त गर्न सक्ने व्यवस्था छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)