रुकुम । रुकुम पूर्वमा होम स्टे सञ्चालन हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रुकुमपूर्वका तीन गाउँ होम स्टेका रूपमा विकास हुने भएका हुन् । विशेषगरी रुकुमपूर्वको भूमे गाउँपालिकाअन्तर्गतका महतगाउँ, चुनवाङको भेडीडाँडा र लुकुम गाउँमा होम स्टे सञ्चालनको तयारी भएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले जानकारी दिएका छन् । उनले भने, ‘ऐतिहासिक र पर्यटकीय क्षेत्रमा होम स्टे सञ्चालनको तयारी भएको छ ।’
महत र लुकमगाउँ पर्यटकीय दृष्टीकोणले सुन्दर गाउँ हो । भने चुनवाङको भेडीडाँडा ऐतिहासिक ठाउँ हो । जहाँ माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने एउटा महत्त्वपूर्ण बैठक भएको थियो । यस क्षेत्रमा सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बसेको घर रहेको छ । यस घरलाई सङ्ग्रहालयका रूपमा विकास गर्ने लक्ष्यसमेत गाउँपालिकाले लिएको छ ।
भूमे गाउँपालिकाको बेरोजगार युवालाई रोजगार बनाउने र भूमे गाउँपालिकामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होम स्टे सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।
यसअन्तर्गत पहिलो चरणमा तीन गाउँका १८ युवालाई होम स्टेसम्बन्धी तालीम प्रदान गरिएको अध्यक्ष बुढाले बताए । उनका अनुसार उद्योग प्रवद्र्धन कार्यक्रमअन्तर्गत होम स्टे सञ्चालन गर्ने व्यक्ति तथा समूहलाई वडाको सिफारिशमा कुल लगानीको ५० प्रतिशत अनुदान दिनेछ । पूर्वी रुकुमको भूमे गाउँपालिकाको महत र चुनवाङ गुरिल्ला पद मार्गको रूटभित्र पनि पर्छ ।
गुरिल्ला पदमार्गभित्र होटेल तथा होम स्टे नहुँदा समस्या भएको गुनासो बढ्न थालेपछि पर्यटकीय क्षेत्रमा होम स्टे विकास गर्ने कार्यक्रम अगाडि बढाइएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले बताए । विशेषगरी भूमे गाउँपालिका मगर समुदायको बसोवास भएका कारण यस होम स्टेमा मगर समुदायको खाना ढिडो, सिस्नो, आलु, छ्याङलगायत खानेकुरा पाइनेछ । यसले आग्र्यानिक उत्पादनलाई बढावा दिने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।
भूमे गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भूमे गाउँपालिकाले ‘ग्रीन भूमे, किलिन भूमे’ अभियान पनि सञ्चालन गरेको छ । यसअन्तर्गत सरसफाइ र सबै घरमा हरियो कलर लगाउने, वृक्षरोपण कार्यक्रम पनि अगाडि बढाउनेलगायत कार्यक्रम गर्दै आएको छ ।