धनगढी । प्रदेश–७ का दुई औद्योगिक क्षेत्रको डीपीआर तयार भएको छ । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) कैलाली र कञ्चनपुरमा घोषणा गरेपछि दुवै औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको हो । कञ्चनपुरको दैजी–छेला र कैलालीको लम्की–डुडेझाँडीमा औद्योगिक क्षेत्र स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएर पुसभित्रै वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया टुङ्ग्याउने तयारी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बताएको छ ।
केही दिनभित्रै दैजी–छेलामा कार्यालय स्थापनाका लागि तयारी भइरहेको शुक्लाफाँटा नगरपालिकाले जानकारी दिएको छ । वातावरण प्रभाव मूल्याङ्कनको काम सम्पन्नपछि औद्योगिक क्षेत्र स्थापनाको काम शुरू हुनेछ । औद्योगिक क्षेत्र स्थापनाको काम अर्को आवबाट थालिने बताइएको छ । तर, लम्की चुहाँमा निर्माण हुने औद्योगिक क्षेत्रको भने औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेकाले दैजी–छेला औद्योगिक क्षेत्रको तुलनामा प्रगति सुस्त देखिन पुगेको हो ।
दुई दशकदेखि प्रक्रियामा रहेको दैजी–छेला र औपचारिक घोषणा हुन बाँकी लम्कीस्थित डुडेझाँडी औद्योगिक क्षेत्र स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएर वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढेको छ । दैजी–छेलामा ९ सय बिघा क्षेत्रफलमा डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कनका लागि ४७ लाख १५ हजारको ठेक्का सम्झौता गरिएको थियो भने डुडेझाँडीमा ११ सय बिघा क्षेत्रफलमा हुने औद्योगिक क्षेत्रको डीपीआर र वातावरणीय प्रभाव अध्ययनका लागि ६० लाख ५७ हजार ५ सय रुपैयाँको ठेक्का सम्झौता भएको थियो ।
२०५२ सालमा जिल्ला वन समन्वय समिति कञ्चनपुर र साविकको दैजी गाविसको निर्णयबमोजिम दैजी–छेलामा औद्योगिक क्षेत्र स्थापनाको पहल शुरू भएको थियो । २०५६ असारमा जिल्ला वन समन्वय समितिले छेलामा स्थापना हुने औद्योगिक क्षेत्रलाई आवश्यक जमीन उपलब्ध गराउने सहमति गरेको थियो । २०७१ सालमा जनचेतना सामुदायिक वन र बेतकोट सामुदायिक वनले पनि जग्गा उपलब्ध गराउने निर्णय गरेका थिए । नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ चैत १ गतेको निर्णयले औद्योगिक क्षेत्र स्थापना गर्न चार किल्ला तोकिएको थियो भने १ वर्षपछि चार किल्ला संशोधन गरिएको थियो । पूर्वतर्फ छेलामुक्त कमैया बस्ती, पश्चिमतर्फ दैजी जोगबुढा सहायक राजमार्ग, उत्तरतर्फ वनक्षेत्र, दक्षिणतर्फ चाँदनीफाटा बस्ती गरी ९ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना छ । उद्योग सञ्चालन गर्न इच्छुकले आवेदन माग गरिसकेको बेतकोट नगरपालिका नगरप्रमुख अशोककुमार चन्दले बताए । त्यस्तै, लम्की–डुडेझाँडी औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार भई अहिले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढेको छ ।