सुर्खेत । लघु, घरेलु तथा साना उद्योगको विकास अहिलेको अपरिहार्य आवश्यकता रहेको उद्योगीहरूले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग नगर महासङ्घ भेरीगङ्गाले आयोजना गरेको उद्यमी भेलाका सहभागीले आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योगको विकास नभई ठूला उद्योगको विकास हुन नसक्ने बताएका हुन् । उनीहरूले घरेलु तथा साना उद्योग नै ठूला उद्योगको आधारस्तम्भ भएकाले देशमा यस्ता उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
निर्यातको ८० प्रतिशत घरेलु उद्योगबाट निर्यात हुने गरेको जानकारी गराउँदै नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर बिसीले ग्रामीण क्षेत्रका महिलालाई उद्यमी बनाउन घरेलु तथा साना उद्योगको भूमिका महत्त्वपूर्ण रहेको जिकिर गरे । उनले जिल्लामा सञ्चालित उद्योग प्रवद्र्धनात्मक कार्यमा सरकारी निकायको भूमिका प्रभावकारी नहुँदा उद्यमी तथा व्यवसायीले विभिन्न समस्या झेल्नु परिरहेको जानकारी दिए ।
उद्यमी भेलाले रगवीर मिजारको अध्यक्षतामा ८ सदस्यीय नेपाल घरेलु तथा साना उद्योग नगर महासङ्घ भेरीगङ्गा गठन गरेको छ । महासङ्घको वरिष्ठ उपाध्यक्षमा ज्ञानु भुसाल, उपाध्यक्ष बलवीर नेपाली, महासचिव रमेश शर्मा, कोषाध्यक्ष गोरखनाथ आचार्य तथा सदस्यहरूमा रूपक टमट्टा, रत्नबहादुर रानालगायत रहेका छन् । भेलाले डिलसरा थापाको अध्यक्षतामा ९ सदस्यीय भेरीगङ्गा महिला उद्यमी समितिसमेत गठन गरेको छ । नवनिर्वाचित अध्यक्ष मिजारका अनुसार भेलाले रेनु आचार्य र भक्तबहादुर जिसीलाई केन्द्रीय प्रनिनिधि सदस्यमा चयन गरेको छ । त्यस्तै, भेरीगङ्गा नगर महासङ्घले सल्लाहकारमा तेजबहादुर महराको संयोजकत्वमा मोतीराम शर्मा र डिल्लीराज रेग्मीलाई सदस्यमा मनोनयन गरेको छ ।