धनगढी । कैलालीको शान्तिपुर बसर जलविद्युत् आयोजना, ठुलीगाडको लाइसेन्स खारेज गरिएको छ । सन् २०१३ मा डीपीआर तयार भएको आयोजना निर्माणका लागि अनुदान स्वीकृतसमेत भइसकेको थियो । तर, शान्तिपुर बसर उपभोक्ता समितिको कमजोरीले आयोजनाको प्रगति नदेखिएपछि लाइसेन्स खारेज गरिएको हो ।
४ सय २२ केभी विद्युत् उत्पादन क्षमताको उक्त आयोजना उपभोक्ता समितिकै कमजोरीका कारण अघि बढ्न नसकेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बताएको छ । १९ करोड लागतको यो आयोजना उपभोक्ताको सक्रियतामा बन्नुपर्नेमा उपभोक्ताको सक्रियता नदेखिएपछि लाइसेन्स खारेज गरिएको जलविद्युत् विज्ञ ब्रिटिश सिंहको भनाइ छ । यद्यपि, आयोजना निर्माणको लाइसेन्स गाउँपालिकाले नै दिन सक्ने व्यवस्था रहेकाले पुनः गाउँपालिकाबाट लाइसेन्स लिएर आयोजना अगाडि बढाउन सकिने विकल्प भने बाँकी रहेको बताए । उक्त आयोजना निर्माणका लागि १० प्रतिशत शेयर लगानी स्थानीय उपभोक्ताले जुटाउनुपर्ने भनिएको थियो ।
पुरानो डीपीआरको आधारमा अब आयोजना अगाडि बढाउन नसकिने सिंहले बताए । ‘पुनः डीपीआर बनाएर लागत र समय निकाल्न सकिन्छ,’ उनले भने ।
३.३३ मेगाको सालमुनी जलविद्युत् अन्तिम चरणमा
निजीक्षेत्रको लगानीमा डोटीको बीपीनगरमा निर्माणाधीन सालमुनी जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । १ अर्ब लगानीको उक्त आयोजनाबाट उत्पादित विद्युत् आगामी दशैंसम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी रहेको गरिएको आयोजनाका साइट इञ्चार्ज सरोज घिमिरेले बताए ।
सनमानदेवी हाइड्रोपावर तथा स्वयम्भू कन्ष्ट्रक्शन र नेपाल सरकारबीच भएको सम्झौताअनुसार आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागिएको हो । उत्पादित विद्युत् सरकारले नै आवश्यक क्षेत्रमा विक्री–वितरण गर्ने सम्झौता भएको घिमिरेले जानकारी दिए । सम्झौताअनुसार विद्युत् विक्रीबाट प्राप्त आम्दानी ३० वर्षसम्म निर्माण कम्पनीले लिनेछ । आयोजनामा स्थानीयको १० प्रतिशत शेयर छ । आयोजनाका लागि कापडीगाडको पानी विद्युत्गृहसम्म लैजान १२ सय ३ मिटर लामो सुरुङ तयार भइसकेको कम्पनीले बताएको छ । कापडीगाड हँुदै विद्युत्गृहमा लगेको पानी ठूलीगाडमा छाडिनेछ ।