सुर्खेत । कर्णाली प्रदेशमा विभिन्न बहाना बनाउँदै संसद् भवन मर्मतसम्भारमा ढिलाइ भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशन साबिकको शैक्षिक जनशक्ति तालीम केन्द्रको अडिटोरियम हलमा बसाल्ने भनिएको थियो । तर, निर्माणमा ढिलासुस्तीका कारण सुविधासम्पन्न भवनमा बैठक बसाल्ने प्रदेशसभा सचिवालयको तयारी रोकिएको छ ।
नयाँ भवनको व्यवस्थापनमा ढिलाइ हुँदा अझै सिँचाइ डिभिजन कार्यालयको साँघुरो हलमा संसद् बैठक बस्ने गरेको छ । मर्मत सम्पन्न हुन कम्तीमा ३ महीना समय लाग्ने प्रदेशसभा सचिवालयको अनुमान थियो । मुख्यमन्त्री, सांसदहरू र स्वयं प्रदेशसभा सचिवालयले निरन्तर निगरानी गर्दै आए पनि मर्मतकार्यले गति लिन सकेको छैन ।
केन्द्र सरकारको बजेटमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ३ महीनाभित्र मर्मत पूरा गर्न वैशाखमा निर्माण कम्पनीहरूलाई कार्यादेश दिएको थियो । बैठक हल मर्मतका लागि करीब रू. १ करोड लागतमा ४ ओटा कम्पनीले जिम्मेवारी पाएका थिए । बैठक हलमा विद्युत् जडान, इको साउण्ड व्यवस्थापनका लागि सीपीएस कन्ष्ट्रक्सन प्रालि, रङ्गरोगन र रेलिङ व्यवस्थापनमा प्रवीण निर्माण सेवा, दर्शकदीर्घा र लेभल सिभिलका लागि बी एण्ड पी निर्माण सेवाले काम गरिरहेका छन् ।
मर्मत सुधारको अन्य काम सकिए पनि साउण्ड सिस्टमको काम बाँकी नै छ । कुर्सी तथा माइक जडान गर्न पनि बाँकी छ । प्रदेशसभा सचिवालयले साउण्ड सिष्टमका लागि बजेट अभाव भएको बताएको छ । बैठक हलभित्र इको सिष्टमको व्यवस्थापन गरे पनि बैठक हलबाट मिडिया सेण्टरसम्म अत्याधुनिक प्रविधिको साउण्ड सिष्टम जडान गर्नुपर्ने भएकाले अझै समय लाग्ने भवन डिभिजन कार्यालयले बताएको छ । प्रदेशसभा सचिवालयले ‘हाइ डिफिनेसन’ (एचडी) प्रविधिको साउण्ड सिष्टम जडान र मिडिया सेण्टर सञ्चालन गर्ने तयारी गरेको छ ।
सभामुख राजबहादुर शाहीले प्रदेश सरकारसँग एचडी प्रविधिको साउण्ड सिष्टम जडान गर्न २ करोड रुपैयाँ बजेट माग गरेको बताए । प्रदेश सरकारले बजेट उपलब्ध गराएपछि टेण्डर प्रक्रियामा जाने उनको भनाइ छ । साबिकको मध्यपश्चिमाञ्चल क्षेत्रीय शैक्षिक जनशक्ति तालीम केन्द्रका अन्य भवनमा प्रदेशसभा सचिवालय यसअघि नै सरिसकेको छ । सभामुख र उपसभामुख, मुख्यमन्त्री, मन्त्रीहरू, संसदीय दलका नेताहरूको कार्यकक्ष सञ्चालनमा आइसकेका छन् । त्यस्तै, प्रदेशसभा सचिवलगायत सचिवालयका कानून, विधेयक, लेखा, मर्यादापालक शाखालगायतको व्यवस्थापन भइसकेको छ ।