ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी

Aug 21, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी
दाङ । दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवर्द्धनका लागि करीब ९० करोड रुपैयाँको गुरुयोजना निर्माण गरिएको छ । यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माणका लागि गुरुयोजना बनाएर अघि बढ्ने पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताए । नयाँ गुरुयोजनामा धाम वरपरको वन क्षेत्रलाई संरक्षण गर्ने, मन्दिर उत्तरतर्फको करीब चार बिगाहा क्षेत्रफलमा बोटिङसहितको ताल निर्माण गर्ने, धामसँग धार्मिक सम्बन्ध रहेको धामदेखि करीब २ किलोमिटर माथि सुनकोट डाँडोमा ३१ क्विण्टलको घण्ट निर्माण, सुनकोटसम्म पुग्नका लागि ४ हजार ९ सय ६३ सिँडी निर्माण गर्नेलगायत कार्य गुरुयोजनामा समेटिने उनले बताए । सिडी निर्माण गर्दा एक जना दाताले एउटामात्रै सिडी निर्माण गर्न पाउनेछ । यसअघिको गुरुयोजनाअनुसार मन्दिर परिसरमा ॐ पोखरी निर्माण १ सय ८ गौमुखी धारा निर्माण, १ सय ८ वरपीपल रोपणलगायत कार्य सम्पन्न भइसकेको सचिव आचार्यले बताए । अहिले गुरुयोजनाका लागि कानूनी प्रक्रिया अघि बढेको उनले जानकारी दिए । अहिलेसम्म धाममा धेरै लगानी समुदायकै भएकाले यो गुरुयोजना सम्पन्न गर्न पनि समुदायबाटै र केही राज्यको तर्फबाट पनि लगानी हुने उनको भनाइ छ । प्रदेश नं. ५ ले यस आर्थिक वर्षमा धारापानी धामको पर्यटन विकासका लागि ५ करोड बजेटसमेत विनियोजन गरेको छ । उक्त धाममा अहिलेसम्म समुदायको तर्फबाट ५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । पछिल्लो समयमा धारापानी धाम पर्यटनको गन्तव्य बन्दै गएको छ । स्थानीय दाताको लगानीमा पछिल्लो ३ वर्षमा पाण्डवेश्वर धार्मिक पर्यटकीय धाम धारापानीले मुहार फेरेको छ । दाताकै लगानीमा विश्वकै अग्लो ५५ दशमलव ५ फिट उचाइ भएको पञ्चधातु त्रिशूल निर्माण गरिएको छ । ऐतिहासिक तथा धार्मिक महत्त्वले निकै वैभव मानिने धारापानीमा विश्वकै अग्लो र ठूलो त्रिशूल, १ सय ८ शिवलिङ्ग, १ सय ८ वरपीपल जोडी, १ सय ८ समीको वृक्ष, ॐ कुण्ड, पाण्डव शयन शिला संरक्षण मन्दिर परिसरको साजको वृक्ष, ठूलो शिलामा कुँदिएको विष्णुपादुका जलकुण्ड छ । विभिन्न देवी देवताको मन्दिरसँगै मनोराम चुरेको काखमा अवस्थित जङ्गल अनि उत्तरतर्फको सुन्दर दाङ उत्पत्यका बबई नदीको मनोमोहक फाँट मुख्य आकर्षणमा रहेका छन् । वर्षेनि ५ लाखभन्दा वढी मानिस यस क्षेत्रको अवलोकन गर्न आउने गरेको तथ्याङ्क छ । यहाँ महाशिवरात्रीको समयमा ३ दिनसम्म मेला लाग्ने गर्दछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)