ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा खेतीयोग्य जमीन मासिँदै

Aug 23, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । पछिल्लो समय सुर्खेतमा खेतीयोग्य जमीन मासिने क्रम बढेको छ । शहरीकरण र बसाइसराइ गरेर आउनेको सङ्ख्या बढेसँगै वीरेन्द्रनगरमा खेतीयोग्य जमीनको खण्डीकरण बढेको हो । खेती लगाउने जग्गा आवास, प्लटिङलगायत कारण घट्दै गए पनि रोकथामका लागि राजनीतिक नेतृत्वको ध्यान नगएको भन्दै वीरेन्द्रनगरका स्थानीय किसानले गुनासो गरेका छन् । जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा १ दशकदेखि आवादी बढ्दै गएको छ । यस उपत्यकामा कर्णाली, भेरी, राप्ती र सेती अञ्चलका विभिन्न जिल्लाबाट सबैभन्दा धेरै बसाइसराइ हुने गरेको छ । उर्वर जमीन रहेको यस क्षेत्रमा विगतमा वार्षिक तीन बालीसम्म खेती हुने गरेको स्थानीय किसान बताउँछन् । खेतीयोग्य जग्गा मासिँदै गएपछि कृषिमै आश्रित परिवार आर्थिक सङ्कटमा पर्न थालेका छन् । आफूले कमाउँदै आएको जग्गा साहूले बेचेपछि गरिखाने ठाउँ नै गुमेको स्थानीय किसान श्यामलाल चौधरीले गुनासो गरे । जिल्लामा यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । महँगो मूल्य पाएपछि प्लटिङ र घडेरीका लागि जग्गा बेच्चेहरू धेरै छन् । छिमेकी पहाडी जिल्लाका युवाले विदेशबाट पठाएको विप्रेषण वीरेन्द्रनगरमा घडेरी र जग्गा किन्न प्रयोग हुने गरेको पाइएको छ । अधिकांशले उपत्यकाको शहरी क्षेत्रमा जग्गा किनी आवास बनाउने गरेका छन् । सरकारको खेतीयोग्य जमीनसम्बन्धी ठोस नीति नहुँदा यो समस्या आएको वीरेन्द्रनगरका किसान वीरबहादुर बीसीले बताए । यस्तै, लाटीकोइलीका रूपेश चौधरीले जनताको जीविकोपार्जनसँग सम्बन्धित विषयमा कुनै पनि दलका नेताको ध्यान नपुगेको गुनासो गरे । तथ्याङ्क कार्यालय सुर्खेतका अनुसार जिल्लामा कृषिका कारण १८ दशमलव ३१, व्यापारका कारण ३ दशमलव ५६, सेवाका कारण १ दशमलव ४२, अध्ययनका कारण ९ दशमलव ३४, विवाहका कारण २४ दशमलव ४८, निर्भरताका कारण २७ दशमलव ३९, द्वन्द्वका कारण १ दशमलव ४०, कारण उल्लेख नभएका ८ दशमलव ३२ र अन्य कारण ५ दशमलव ८० प्रतिशत सर्वसाधारण बसाइसराइ गरेर आएका छन् । यसरी बसाइ सरेर आउने अधिकांशले जिल्लाको ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा टुक्रा जग्गा लिएर आवास बनाउने गरेको कार्यालयको भनाइ छ । ‘वीरेन्द्रनगर नगरपालिकामा दैलेख, कालीकोट, जाजरकोट, जुम्ला, मुगु, हुम्ला र सल्यानका बासिन्दाको बाहुल्य छ,’ ‘मालपोतकका एक कर्मचारीले भने, ‘कर्णाली, भेरी, सेती र राप्ती अञ्चलका सबैजसो जिल्लाबाट बसाइसराइ गरेर आउनेहरू छन् ।’ बाहिर जिल्लामा जन्मेका ४० दशमलव १७ प्रतिशत नागरिक १० वर्षभन्दा लामो समयदेखि सुर्खेतमा बस्दै आएको कार्यालयले बताएको छ । यसमा पुरुष ४१ दशमलव ७३ र महिला ३८ दशमलव ९४ प्रतिशत छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)