रौतहट । रौतहटमा विवादका कारण १२ ओटा स्थानीय तहको परिषद् अहिलेसम्म हुनसकेको छैन । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको आन्तरिक विवादका कारण परिषद् सञ्चालन नै अन्योलमा देखिएको हो ।
परिषद् सञ्चालन गर्ने विषयमा दिनहुँ छलफल भए पनि नीति तथा कार्यक्रमका विषयमा दलहरूबीच विवाद देखिन्छ । कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाह कर्तव्य ज्यान मुद्दामा जेल परेपछि नगर परिषद् अन्यौलमा छ । उप–प्रमुख नुरजहाँ खातुनलाई कार्यवाहक नबनाउँदा अहिलेसम्म नगरपरिषद् आयोजना हुन नसकेको हो ।
चन्द्रपुर, गरुडा, वृन्दावन, फतुवा विजयपुर, राजदेवी, राजपुर, गढीमाई, माधवनारायण, राजदेवी, राजपुर, देवाही गोनाही, गुजरा नगरपालिका र दुर्गा भगवती गाउँपालिका सहितको जिल्लाको १२ स्थानीय तहमा नीति तथा कार्यक्रमबारे विवाद देखिन्छ ।
गौर, मौलापुर, यमुनामाई, ईशनाथ, परोहा र बौधीमाई नगरपालिकाले परिषद् सम्पन्न गरिसकेका छन् । रौतहटमा १६ ओटा नगरपालिका र २ ओटा गाउँपालिका गरी १८ ओटा स्थानिय तह छन् । उक्त स्थानीय तहका जनप्रतिनिधिले आन्तरिक विवादका कारण समयमा नै परिषद् नभएको र छलफल गरी चाँडै गर्ने तयारी भइरहेको बताएका छन् ।
परिषद् ढिला हुँदा चालू आर्थिक वर्षका विकास निर्माणका योजना प्रभावित हुने जिल्ला समन्वय समितिका अधिकृत कीर्ति सुवेदीले बताए । ऐनअनुसार परिषद् नभए केन्द्रबाट आउने अनुदानको रकम कटौती हुन सक्ने उनको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐनमा आर्थिक वर्षको असार १० गते सबै स्थानीय तहको परिषद् सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
असार १५ गते परिषद्मा प्रस्तुत बजेट बहुमत सदस्यबाट पारित गर्नुपर्ने प्रावधान छ । सङ्घीय मामिला मन्त्रालयले जिल्लाका सबै स्थानीय तहमा असार १० गते पेश गरिएको बजेटको विवरण मागेको थियो । तर, परिषद् नै नभएकाले रौतहटका अधिकांश स्थानीय तहले हालसम्म विवरण दिन सकेका छैनन् ।