ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा अवैध इँटा उद्योग बढ्दै

Aug 24, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । पर्वतमा दर्जनौं इँटा उद्योगहरू सामान्य मापदण्ड पनि पूरा नगरी सञ्चालन गरेको पाइएको छ । जिल्लाका गाउँगाउँमा इँटा भट्टा सञ्चालन गरेर ठूलो मात्रामा कारोबार हुँदै आएको भए पनि नियामक निकायले त्यस्ता भट्टा नियमन गर्न चासो दिएको पाइँदैन । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका प्रमुख विष्णु न्यौपानेका अनुसार जिल्लामा ३ ओटाबाहेक इँटा उद्योग दर्ता भएका छैनन् । उनले भने, ‘जस्तोसुकै व्यवसाय पनि विनादर्ता सञ्चालन गर्न पाइँदैन ।’ घरेलुले व्यवसाय दर्ता गर्ने मात्रै काम भएकोले विनादर्ता सञ्चालनमा आएकालाई कारबाही गर्न नमिल्ने उनी बताउँछन् । जिल्लामा वर्षौंदेखि अवैध इँटा भट्टा सञ्चालनमा छन् । यसको नियामक निकाय जिल्ला प्रशासन हो । तर, प्रशासन पनि यो विषयमा मौन छ । ‘त्यसमा हाम्रो दृष्टि नपुगेकै हो,’ प्रशासनका अनुगमन अधिकृत ऋषिराम आचार्यले भने, ‘सबै मिलेर नियमन गर्नुपर्ने हो । गर्न सकिएको छैन ।’ उनले अस्थायी रूपमा गाउँगाउँमा लुकिछिपी भट्टा खोल्ने प्रवृत्ति रोक्न नसकेको बताए । कुश्मा–१, पाङस्थित कालिका इँटा उद्योगका सञ्चालक विज्ञान बम मल्लले भने, ‘नियमक निकायको लापरबाहीकै कारण अवैध भट्टा बढेका छन्,’ उनले भने, ‘कारबाही गर्ने निकाय नै कमजोर छ ।’ अधिकांश भारतीय र केही तराई मुलुकका मानिसले गाउँमा अवैध इँटा भट्टा चलाउने गरेको मल्लले बताए । गाउँगाउँमा पक्की घर बन्ने प्रचलन बढेसँगै इँटाको माग बढ्दै गएको छ । गाउँमा अस्थायी रूपमा केही महीना इँटा भट्टा चलाउने र पछि बन्द गर्ने क्रम बढ्दो मात्रामा पाइन्छ । भूकम्पपछिको आवास पुनर्निर्माणमा सरकारी अनुदान पाएपछि पर्वतमा यसै वर्ष करीब ४ हजार नयाँ घर बन्ने क्रममा छन् । इँटाको माग बढेपछि अवैध इँटा उद्योगलाई फाइदा भएको छ । उनीहरुले लाखौं रुपैयाँ अवैध तरीकाले आर्जन गरिरहेका छन् । फलेवास नगरपालिका र कुश्मा नगरपालिकाका ग्रामीण क्षेत्रमा अधिकांश अवैध इँटा उद्योग सञ्चालन हुँदै आएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)