रुकुम । रुकुममा बाढीपहिरोका कारण ६६ घर भत्किएका छन् । यीमध्ये ३९ ओटा घर पूर्णरूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार बाफीकोट गाउँपालिकाको एक विद्यालय पनि क्षतिग्रस्त भएको छ ।
बाढीपहिरोले जिल्लाको आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी (३० ओटा) घर भत्किएका छन् । क्षतिग्रस्त बाँकी ३६ ओटा घर चौरजहारी र मुसीकोट नगरपालिकाका साथै त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकाका छन् ।
पहिरोले आठबिसकोट नगरपालिका–१ धुर्सेनीको एउटा बस्ती नै सखाप भएको छ । करीब ४१ घर रहेको आठबिसकोट–१ का ३० घर भत्किएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रेग्मीले बताए । धुर्सेनीका १३ घर पहिरोको उच्च जोखीममा रहेको जिल्ला प्रशासन कार्यालय, रुकुम पश्चिमको एक तथ्याङ्कले देखाएको छ ।
यसैगरी मुसीकोट नगरपालिका–१२ का ३० घर पहिरोको उच्च जोखीममा रहेको स्थानीयले बताएका छन् । गाउँमाथिबाट आएको पहिरोका कारण मुसीकोट–१२ का अधिकांश घरहरू चर्किएका छन् । रुकुम पश्चिममा बाढी र पहिरोका कारण साउन महीनामात्रै करीब ५ करोड रुपैयाँबराबरकोे क्षति भएको छ ।
आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी क्षति भएको जिल्ला प्रशासन कार्यालय, रुकुमले बताएको छ । कार्यालयका अनुसार साउनदेखि भदौ पहिलो सातासम्म करीब साढे २ लाख रुपैयाँ क्षतिपूर्तिस्वरूप वितरण गरिएको छ । कार्यालयले घर पूर्णरूपमा क्षति भएका परिवारलाई ९ हजार राहत रकम वितरण गरिरहेको छ । बाढीपहिरोबाट पीडित परिवारलाई नेपाल रेडक्रश सोसाइटी, जिल्ला शाखा रुकुमले पनि पाल, भाँडाकुडा, खाद्यान्नलगायत सामग्री वितरण गरेको नेपाल रेडक्रश सोसाइटी, जिल्ला शाखा रुकुमका मन्त्री रमा गौतमले जानकारी दिइन् ।
रुकुमको विपद् क्षेत्रमा आरएसडीसी/पहल कार्यक्रम, नेपाल जनजागरण मञ्च, रुकुमेली समाज विकास केन्द्रलगायतका गैरसरकारी संस्था सक्रिय छन् । यस्तै, गाउँपालिका र नगरपालिकाका साथै जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेनालगायत सरकारी निकायले समेत सघाउँदै आएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।