काठमाडौं । गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका नयाँ तथा पुराना जीवन बीमा कम्पनीको नाफा हेर्दा नयाँ कम्पनीको नाफा ८३ दशमलव ५५ प्रतिशत बढेको छ भने पुराना कम्पनीको नाफा ३५ दशमलव ३५ प्रतिशत घटेको छ । नयाँ जीवन बीमा कम्पनीमध्ये सातओटाले गत आवको तेस्रो र चौथो त्रैमासिक विवरण निकालेका छन् भने युनियन लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले अघिल्लो आवको चौथो त्रैमासको पनि वित्तीय विवरण प्रकाशित गरेका छन् ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत सातओटा जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानले गरी कुल रू. १ खर्ब २४ करोड बीमाशुल्क आर्जन गरेका छन् । ती कम्पनीले गत आवको चौथो त्रैमासमा रू. १ अर्ब ३४ करोड नाफा गरेका छन् भने अघिल्लो आवको चौथो त्रैमासमा रू. २ करोड ८ लाख आर्जन गरेका थिए । नयाँ ९ ओटा जीवन बीमा कम्पनीले चौथो त्रैमाससम्ममा रू. ३ अर्ब १० करोड बीमाशुल्क आर्जन गरेका छन् । यी कम्पनीले अघिल्लो आवमा रू. ४४ करोड ४६ लाख नाफा आर्जन गरेका थिए भने गत आवको चौथो त्रैमासमा रू. ८१ करोड ६१ लाख नाफा कमाएका छन् ।
वित्तीय विवरण सार्वजनिक गरेका आठओटा जीवन बीमा कम्पनीमध्ये ६ ओटाको नाफा बढेको छ । नेपाल लाइफ इन्स्योरेन्स र एलआईसी (लाइफ इन्स्योरेन्स कर्पोरेशन) नेपालको नाफा घटेको छ । गत आवको चौथो त्रैमासमा सबैभन्दा बढी नाफा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । तर, यस कम्पनीको नाफा अघिल्लो आवको तुलनामा भने ५२ प्रतिशत घटेको देखिन्छ । अघिल्लो आवको तुलनामा सबैभन्दा बढी नाफा राष्ट्रिय बीमा संस्थानले गरेको छ । कम्पनीको नाफा १ सय ८९ प्रतिशत बढेको छ । अघिल्लो आवमा उसको नाफा रू. ६८ लाख १६ हजार थियो भने गत आवको चौथो त्रैमासमा रू. १ करोड ९७ लाख पुगेको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन रू. ३ अर्ब १६ करोड छ । गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको नाफा अघिल्लो आवको तुलनामा ३६ प्रतिशत बढेको छ । गुराँस लाइफ इन्स्योरेन्सको नाफा अघिल्लो आवमा रू. ४ करोड १८ लाख थियो भने गत आवको चौथो त्रैमासमा रू. ५ करोड ७२ लाख पुगेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाफा अघिल्लो आवमा रू. १५ करोड ८७ लाख थियो भने गत आवको चौथो त्रैमासमा रू. २१ करोड ६३ लाख पुगेको छ ।
बीमा समितिबाट अनुमति पाएका ९ जीवन बीमा कम्पनीले सार्वजनिक गरेको चौथो वित्तीय विवरणमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बाहेक बाँकी सबैको नाफा बढेको छ । उक्त कम्पनीको नाफा गत आवको आवको तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा १९ प्रतिशत घटेको हो । चौथो त्रैमासमा सबैभन्दा बढी नाफा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कमाएको छ ।
कम्पनीले चौथो त्रैमासमा रू. १२ करोड ७८ लाख नाफा आर्जन गरेको हो । सात कम्पनीले गत आवको तेस्रो त्रैमासको आधारमा नाफाको तुलनामा गरेका छन् । युनियन लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले भने अघिल्लो आवको विवरण सार्वजनिक गरेका छन् । युनियन लाइफ इन्स्योरेन्सको नाफा अघिल्लो आवको तुलनामा ६ सय ४९ प्रतिशत बढेको छ भने सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ४ हजार ७ सय ३१ प्रतिशत बढेको छ ।
तेस्रो त्रैमास र चौथो त्रैमासको तुलनामा सबैभन्दा बढी नाफा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको छ । कम्पनीको नाफा ६८ दशमलव ७३ प्रतिशत बढेको छ । गत आवको तेस्रो त्रैमासमा उसले रू. ६ करोड ४६ लाख कमाएकोमा चौथो त्रैमासमा रू. १० करोड ९० लाख आर्जन गरेको छ । आईएमई लाइफ इन्स्योरेन्सले चौथो त्रैमासको मात्र वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको बीमाशुल्क आर्जन रू. ५३ करोड ७३ लाख छ ।