ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा ‘एक घर, एक टनेल’ अभियान

Aug 27, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । पर्वतको महाशिला गाउँपालिकाले ‘एक घर, एक टनेल’ अभियान शुरू गर्ने भएको छ । स्थानीयलाई तरकारीखेतीबाटै आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले उक्त योजना ल्याएको हो । त्यसका लागि कृषकलाई प्लाष्टिक टनेल, मल, बीउलगायत सामग्री अनुदानमा वितरण गर्न थालिएको छ । गाउँपालिकाले कृषकहरूलाई पहिलो चरणमा जग्गाको छनोट तथा टनेलमा तरकारी खेतीसम्बन्धी तालीम दिएको छ । उक्त तालीमपछि दोस्रो चरणमा टनेल वितरण गर्न थालिएको छ । गाउँपालिकाले वडा नं ५, लुङ्खुका ४० जना किसानलाई बिहीवारदेखि टनेल वितरण थालेको हो । टनेलमा तरकारी फलाउने तरीकाबारे तालीम दिएपछि कृषकलाई टनेल वितरण शुरू गरिएको गापा अध्यक्ष राजु पौडेलले जानकारी दिए । उनले भने, ‘चालू आवमा टनेल खरीदका लागि ३३ लाख बजेट विनियोजन गरेका छौं ।’ गाउँपालिकाका आधा घरधुरीमा टनेल प्रविधिमार्फत तरकारीखेती थाल्ने निर्णय गाउँसभाले गरेको थियो । ‘तरकारीखेतीमा कृषकलाई टिकाइरहन अनुदान र बजारीकरणमा पनि जोड दिएका छौं,’ अध्यक्ष पौडेलले भने । कृषकले उत्पादन गर्ने तरकारी निःशुल्क ढुवानीको व्यवस्था मिलाइने निर्णय गाउँसभाले गतवर्ष नै गरेको थियो । टनेल प्रविधिबाट तरकारी फलाउने तरीकाबारे तालीम लिएकाहरूले अन्य किसानलाई पनि सो तालीम दिनुपर्नेछ । टनेल पाएका कृषकले अरूलाई तालीम नदिएको पाइए अन्य अनुदान रोक्का गरिने गाउँसभाले बताएको छ । गाउँपालिकाले १ महीनाभित्र सबै वडामा टनेल वितरण गर्ने लक्ष्य राखेको प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिए । ‘अहिले तरकारी लगाउने सिजन शुरू हुन लाग्यो । जग्गा तयारी नहुँदै टनेल लगेर तयार हुन कृषकलाई भनेका छौं,’ ठकुरीले भने, ‘कृषकलाई बेलैमा प्रविधि हस्तान्तरण गर्ने हाम्रो ध्येय हो ।’ कृषकलाई चक्रीय प्रणालीमा खेती लगाउने तरीकाबारे तालीम दिइएको छ । १०–१० जनाको समूह बनाएर तरकारी लगाउने तयारी गाउँपालिकाको छ । ६ ओटा वडा रहेको यो गाउँपालिकाका सबै ठाउँमा सिँचाइको सुविधा छैन । सिँचाइका लागि कृषकलाई आकाशेपानी सङ्कलनका लागि प्लाष्टिक पोखरी बनाउन सहयोग गरिएको छ । तरकारीखेतीका लागि यहाँका कृषकलाई बाँदर अर्को समस्या बनेको छ । बाँदर नियन्त्रणका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ विनियोजन गरेको छ । विशेष किसिमको जालोमार्फत बाँदर समातेर निकुञ्जमा पठाउने तयारी गाउँपालिकाले गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)