सुर्खेत । सुर्खेतको सबैभन्दा ठूलो बराहतालको प्रचार–प्रसार अभावले ओझेलमा परेको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट ३१ किलोमिटर पश्चिम रहेको सुन्दर बराहताल संरक्षण र प्रचार अभावले ओझेलमा परेको हो । ताल प्राकृतिक सुन्दरताले जति आकर्षक छ, त्यति यसको महत्त्वलाई कसैले पनि बुझ्न सकेका छैनन् । यसको संरक्षण र विकासमा कसैको ध्यान पुग्न सकेको छैन । करीब २६ बिगाहा क्षेत्रफलमा फैलिएको ताल आवश्यक संरक्षण, संवद्र्धन र प्रवद्र्धनको अभावमा जीर्ण बन्दै गइरहेको हो । न्यून सङ्ख्यामा पुग्ने आन्तरिक पर्यटक तालको पछिल्लो अवस्थामा खिन्न हुने गरेको स्थानीय बासिन्दाको अनुभव छ । तालको संरक्षण र संवद्र्धनमा कसैले चासो नदिँदा दिनप्रतिदिन ताल जीर्ण बन्दै गएको हो । बराह तालका अनेक विशेषता छन् ।
जङ्गलको बीचमा रहेको यो ताल आफैमा आकर्षक छ । तालको एक भागमा मन्दिर छ । बराहतालमा प्रत्येक वर्ष टाढा–टाढाबाट विभिन्न प्रकारका फिरन्ते चरा आउँछन् । तालमा हाँससहित अनेक प्रजातिका चरा पौडी खेलिरहेको दृश्य देख्न सकिन्छ ।
सुर्खेतका जिल्ला वन अधिकृत हेमराज विष्टले भौतिक पूर्वाधार विकास र प्रचारकै अभावमा बराहताल ओझेलमा परेको बताए । ‘बराहतालको प्रचार र संरक्षणमा लगानी गरौं,’ उनले भने, ‘रारा जाने पर्यटकलाई बराहतालमा पनि रोक्न सकिन्छ । पर्यटकको आकर्षण बढेमा आम्दानी बढ्नेछ, यसले स्थानीयको जीवनस्तर नै बदलिनेछ ।’ उनका अनुसार विगतको तुलनामा तालको पानीसमेत सुक्दै गएको छ ।
तालसम्म पुग्न सडक नभएकाले पनि बराहतालको सौन्दर्य अवलोकनका लागि पर्यटक जान सकेका छैनन् । यसले गर्दा विभिन्न प्रजातिका चराले पर्यटकलाई बोलाइरहेका छन् । तर, तालको संरक्षण र प्रचार–प्रसार अभावले आन्तरिक पर्यटकसमेत भित्रिन सकेका छैनन् । सङ्घीय संरचनाअनुसार अधिकार सम्पन्न स्थानीय सरकारले तालको संरक्षणलाई प्राथमिकतामा राखिएको बताएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धन र पर्यटकीय क्षेत्रमा हुने लगानीलाई प्राथमिकता दिएको अध्यक्ष तेजबहादुर बस्नेतले बताउँछन् । सुन्दर मनोरम वातावरण भएको उक्त क्षेत्र पर्यटकीय अकर्षणको केन्द्रबिन्दु बन्न सक्ने भन्दै प्रचार–प्रसारका लागि बराहताल गाउँपालिकाले योजनाबद्ध विकासका कार्यक्रम ल्याउन लागिएको जानकारी दिए । धार्मिक र पर्यटकीय सम्भावना बोकेको बराहतालको संरक्षण र प्रचारप्रसारका लागि गाउँपालिकाको स्रोतबाट सम्भव नभएकाले वैकल्पिक उपायको खोजी भइरहेको उनको भनाइ छ ।
सदरमुकाम वीरेन्द्रनगरबाट नजिकै रहे पनि अहिलेसम्म बाटोसमेत पुग्न नसक्दा यहाँका स्थानीयवासी, जनप्रतिनिधि र सरकारी निकायसँग एकदमै असन्तुष्ट बनेका छन् । जिल्लाकै नमूना पर्यटकीय स्थलको रूपमा रहेकाले यसको संरक्षणमा सबैजना जुट्नुपर्ने यहाँका बासिन्दाको धारणा छ ।