धनगढी । कैलालीे जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले आफ्नो सम्पूर्ण पारिश्रमिक विद्यालयबाहिर रहेका बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने भएका छन् । उनले आफ्नो कार्यकाल अवधिभर पाउने सम्पूर्ण पारिश्रमिक विद्यालयबाहिरका बालबालिकाको शिक्षाका लागि खर्चिने भएका हुन् ।
विद्यालयबाहिर रहेका गरीब घरका १ सय बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले प्रमुख थापाले आफूले मासिक रूपमा पाउँदै आएको पारिश्रमिक खर्च गर्ने बताए । ‘जिल्लाभित्रका जहाँसुकैका बालबालिका हुन् म १ सय जना बालबालिकाको शिक्षाका लागि खर्च गर्नेछु,’ थापाले भने ।
जिल्ला शिक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख थापाले बालबालिकाको खुद भर्नादर ९७ दशमलव ७ पुगेको तथ्याङ्कले देखाएकाले कैलालीमा विद्यालयको पहुँचभन्दा बाहिर अझै धेरै बालबालिका रहेको बताए । उनले जिल्ला शिक्षा तथा समन्वय इकाइ कैलालीबाट कार्यविधि बनाएर जिल्लाका १३ ओटै स्थानीय तहसँग समन्वय गरी विद्यालयबाहिर रहेका बालबालिकाको शिक्षाका लागि खर्च गरिने बताए ।
मङ्गलवार जिल्ला समन्वय समितिको प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी प्रदेश–७ का सभामुख अर्जुनबहादुर थापाले विद्यालय जान नसकेका बालबालिकालाई शैक्षिक सामग्री, जुत्ता, विद्यालय पोसाक र झोला वितरण गरे । सभामुख थापाले समन्वय समितिका प्रमुख थापाले गरेको महान् कार्यको प्रशंसा गर्दै विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । उनले प्रदेश–७ मा गरीबीले विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।