ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोबाइल नेटवर्कमा पनि लोडसेडिङ

Aug 29, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । पश्चिम सुर्खेतका नमस्ते र स्काई टावरमा लोडसेडिङ हुँदा सेवाग्राहीले सास्ती भोग्नु परिरहेको छ । टावरको मर्मतसम्भार गर्नुको साटो विभिन्न बहाना बनाउँदै नेपाल टेलिकमको सुर्खेत शाखाले मोबाइल नेटवर्कमै लोडसेडिङ गरेकाले यस्तो समस्या आएको हो । टेलिकमका गैरजिम्मेवार कर्मचारीका कारण पश्चिम सुर्खेतका बासिन्दाले वर्षाैंदेखि सास्ती खेप्तै आइरहेका छन् । वर्षाको समयमा झन् धेरै सास्ती खेप्नु परेको गुटुका समाजसेवी काशीराम देवकोटाले बताए । पश्चिम सुर्खेतका विभिन्न स्थानमा राखिएका नमस्ते र स्काई टावरमा अपग्रेडिङ गर्ने नाममा विगत २/३ महीनादेखि झनै फोन नलाग्ने समस्या रहेको छ । ती टावरमा खराबी आउँदा पश्चिम सुर्खेतआसपासका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको बेतानका बलबहादुर रानाले बताए । उनका अनुसार ती निर्माण भएका टावर शुरूको १ वर्षसम्म २४सै घण्टासम्म राम्रोसँग चले पनि त्यसपछि प्रभावकारी काम गरेका छैनन् । सोलारको ब्याट्रीमा आएको समस्या भन्दै अहिले दैनिक ७ घण्टा मात्र टावर सञ्चालन हुँदै आएको छ भने बाँकी समय लोडसेडिङ हुँदै आएको छ । हिउँदमा उक्त टावर १० घण्टासम्म सञ्चालनमा आए पनि वर्षायाममा बर्सेनि यस्तै समस्या देखिने गरेको छ । घाम नलाग्ने र सोलार ब्याट्री चार्ज नहुने भएकाले मुस्किलले दैनिक बिहान १० बजेदेखि साँझ ४ बजेसम्म ७ घण्टा टावर सञ्चालन हुने गरेको सेवाग्राही बताउँछन् । टेलिकमले पश्चिम सुर्खेतका बेतान, रेक्चा, धौलेकाँडा, बाबियाचौर, विद्यापुर, हरिहरपुरलगायत स्थानमा स्काई र नमस्तेका टावर स्थापना गरेको छ । ती टावर २४सै घण्टा सञ्चालन गर्न स्तरीय ब्याट्री नहुँदा पनि समस्या भइरहेको स्थानीयको आरोप छ । हाल पश्चिम सुर्खेतका ती सबै टावर सोलारबाट सञ्चालन हुँदै आइरहेका छन् । त्यहाँ अहिले पनि राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । टावर र सोलारका पाता स्तरीय राख्न स्थानीयले टेलिकमलाई अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको गुटुका निश्चल बयक बताउँछन् । नेपाल टेलिकम सुर्खेत शाखाका प्रमुख नवराज खतिवडाले पश्चिम सुर्खेतका अधिकांश टावर सोलारबाटै सञ्चालित भएकाले वर्षाको समयमा पर्याप्त घाम नलाग्दा टेलिफोनमा समस्या हुने गरेको बताए । उनले स्काई टावरमा अपग्रेडिङको काम भइरहेकाले यतिबेला समस्या भएको जानकारी दिए । उनका अनुसार सुर्खेत शाखाबाट सहजीकरणबाहेक अन्य सबै काम नेपालगञ्ज क्षेत्रीय कार्यालयबाट हुने गरेको छ । वर्षाको समयमा पश्चिम सुर्खेतमा यातायातका सवारीसाधन चल्न नसक्दा मर्मत सम्भारमा समेत समस्या भएको उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)