सुर्खेत । नेपाल प्रहरीले आफ्ना एकाइहरूलाई प्रादेशिक संरचनामा रूपान्तरणको प्रक्रिया थालेको छ । प्रदेश नं ७ को अस्थायी राजधानी वीरेन्द्रनगर कायम भएसँगै प्रहरीले आफ्ना सातओटा संरचना स्थापना गर्न लागेको हो । नेपालगञ्जमा रहेका कार्यालयहरू अहिले प्रादेशिक अवधारणाअनुसार सुर्खेतमा सार्न थालिएको छ ।
प्रदेश प्रहरी कार्यालय र गण यसअघि नै वीरेन्द्रनगरमा स्थापना भइसकेका छन् । पूर्वी सुर्खेतको छिञ्चुमा कर्णाली ट्राफिक प्रहरी कार्यालय, प्रहरी तालीम केन्द्र र नेपाल प्रहरी आवासीय माध्यमिक विद्यालय स्थापना गरिनेछ । ट्राफिक कार्यालय कोहलपुरबाट र तालीम केन्द्र नेपालगञ्जबाट स्थानान्तरण गर्न लागिएको हो ।
प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मोहन आचार्यले संरचना स्थानान्तरणका लागि जग्गाको खोजी भइरहेको बताए । उनका अनुसार तत्काललाई जिल्ला ट्राफिक कार्यालयबाटै प्रदेश ट्राफिक कार्यालय सञ्चालन गरिनेछ । नेपालगञ्जमा रहेका दङ्गा नियन्त्रण प्रहरी गण र भेरी अञ्चल प्रहरी कार्यालय सङ्घीय प्रहरी एकाइमा रूपान्तरण भएर स्थापना हुने क्रममा छन् ।
एकाइले केन्द्रीय निर्देशनको परिपालना र प्रदेश मातहतका कार्यालयमा आवश्यक दक्ष प्राविधिक जनशक्ति खटाउने भूमिका निर्वाह गर्नेछ । आन्तरिक मामिला तथा कानून मन्त्रालय मातहतमा रहने प्रादेशिक प्रहरी कार्यालयले भविष्यमा कुनै ठूला घटना भएमा त्यसको अनुसन्धानका लागि आवश्यक जनशक्ति पठाएर समन्वय गर्नेछ । मन्त्रालयले पनि प्रदेश प्रहरीलाई व्यवस्थित र प्रभावकारी बनाउन बजेट विनियोजन गरिसकेको छ ।
वीरेन्द्रनगरमा प्रहरीको नयाँ कार्यालय कुकुर शाखा र नेपालगञ्जबाट स्थानान्तरण हुने ब्याण्ड गुल्म पनि स्थापना हुनेछ । सङ्घीय प्रणालीबमोजिम प्रदेशस्तरमा प्रहरीलाई आवश्यक पर्ने संरचना क्रमिक रूपमा स्थापना हुन लागेको एसएसपी आचार्यले बताए । ‘सबै संरचना स्थापना हुन कम्तीमा २ वर्ष लाग्न सक्छ,’ उनले भने, ‘सातओटै कार्यालयका लागि आवश्यक पर्ने जग्गाको टुङ्गो लाग्दै छ ।’
प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरीलाई थप कार्यालय राख्न उपयुक्त स्थान छनोटका लागि पत्राचार गरेको थियो । यसअघि जुम्लामा रहेको कर्णाली अञ्चल प्रहरी कार्यालयलाई मर्ज गरेर सोही ठाउँमा विपद् व्यवस्थापन कार्यदल राखिएको छ । ५० जना प्रहरीसहितको कार्यदलको नेतृत्व प्रहरी निरीक्षकले गर्नेछन् । तीन जिल्लामा थप ‘क’ वर्गका नयाँ इलाका प्रहरी कार्यालय स्थापना गरिएको छ । सुर्खेतको लेकबेँशी नगरपालिका, कालीकोटको पाँचलझरना गाउँपालिका र सल्यानको दार्मामा ‘क’ वर्गका इलाका प्रहरी कार्यालय स्थापना गरिएको हो ।