जनता आवास कार्यक्रममा ढिलाइ : अधिकांश जनताको त्रिपालमुनि बास
Aug 29, 2018
 
प्रदेश समाचार
रौतहट । जनता आवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घर छाउनै ढिलाइ भएपछि रौतहटका अति विपन्न वर्गका बासिन्दा कष्ट बेहोर्न बाध्य छन् । उनीहरू बस्दै आएको झुपडी भत्काएर कार्यक्रमले बनाउन थालेको पक्की घर निर्माणाधीन छन् । निर्माणकार्यमा ढिलो भएकाले ती घरमा प्लाष्टिक टाँगेर र केही त्रिपालमुनि बसिरहेका छन् ।
चन्द्रपुर नगरपालिका–९, चेतनगर, गौर नगरपालिका–८, ढाँगर वस्तीमा यस्तो समस्या देखिएको हो । गतवर्ष साउन अन्तिममा आएको बाढी र त्यसपछिको शीतलहरमा पनि त्रिपालमुनि बसेका र अझै घर पूरा नहुँदा सो समुदायका बासिन्दा निराश भएका छन् ।
आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पुर्याउने उद्देश्यले रौतहटमा पनि आवास कार्यक्रम सञ्चालन गरिएको हो । मुसहर समुदाय बसोबास गर्दै आएका झुपडीसमेत नहुँदा थप पीडामा परेकाले अलपत्र अवस्थामा रहेका ती घरहरू तत्काल निर्माण गर्नुपर्ने नेपाल राष्ट्रिय मुसहर सङ्घका केन्द्रीय उपाध्यक्ष नथुनी माझीले बताए ।
रौतहटमा २०७३ चैतमा सर्वे गरी २०७४ जेठदेखि घर बनाउन थालिएको हो । प्रतिघर रू. २ लाख १४ हजार ७ सयको लागतमा सरकारले तराई मधेशका जिल्लामा आवास कार्यक्रममार्फत घर बनाइदिन लागेको हो । रौतहटमा विपन्न समुदायका लागि १ हजार घर स्वीकृत भएको आवास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय गौरले जानकारी दिएको छ । स्थानीय स्तरमा उपलब्ध हुने निर्माण सामग्री र प्रविधि उपयोग गरी भूकम्प प्रतिरोध आवास निर्माण भइरहेको बताइएको छ ।
निर्माणाधिन संरचनामा गुणस्तरहीन सामग्री प्रयोग भएको सङ्घीय सांसद देवप्रसाद तिमल्सिनाले बताए । घर बनाउने क्रममा बालुवा र सिमेण्टको सन्तुलन नमिलाई ठगी गरिएको उनको भनाइ छ । यस विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न उनले माग गरेका छन् ।