राष्ट्रिय बीमा संस्थान : २ अर्ब चुक्तापूँजी पुर्याउने तयारी कहाँ अल्झियो ?
Sep 2, 2018
 
लगानी
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले पनि नियामक निकाय बीमा समितिले दिएको निर्देशनबमोजिम गत असार मसान्तभित्रै रू. २ अर्ब चुक्तापूँजी पुर्याउने कार्ययोजना अघि सारेको थियो । हाल संस्थापकतर्फको मात्र स्वामित्व रहेको यस संस्थाले सर्वसाधारणलाई समेत समेट्दै पूँजी पुर्याउने योजना अघि सारेको हो । संस्थानले संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णयबमोजिम कार्ययोजना तयार गरी नेपाल सरकार अर्थ मन्त्रालयबाट सैद्वान्तिक सहमति गत पुसमै प्राप्त गरेको थियो । तर, हालसम्म पनि पूँजीवृद्धिको योजनाअनुसार कार्य नबढेको अवस्था संस्थानको छ ।
कम्पनीले नेपाल राष्ट्र बैङ्क र नेपाल बैङ्कको समेत स्वीकृति लिइसकेको जानकारी दिएको छ । संस्थानका सहायक प्रशासक सुरेन्द्र थापाले संस्थानले चुक्तापूँजी ७०ः३० कायम गर्ने योजना नेपाल सरकारको अन्तिम स्वीकृतिका लागि पेश गरिसकेको बताए । संस्थान नेपाल सरकारको स्वामित्वमा रहेको कम्पनी भएकाले सरकारको तर्फबाट पूँजीकरण विवरण स्वीकृत भएपछि बीमा समितिमा पेश गर्ने तयारी रहेको उनको भनाइ छ ।
जीवन बीमा व्यवसाय गर्ने संस्थानलाई समेत साविक कम्पनी ऐन २०६३ मा भएको व्यवस्थाअनुसार कम्पनीमा परिणत हुन सक्ने प्रावधान रहेकाले सर्वसाधारणलाई शेयर जारी गरी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्न शेयर संरचना हेरफेर गरी पूँजीवृद्धि गर्न सकिने हुँदा संस्थानले सोहीअनुसार पूँजीवृद्धि योजना तयार गरेको छ । संस्थानको योजनाअनुसार कुल रू. २ अर्ब चुक्तापूँजीमा सर्वसाधारणतर्फ रू. ६० करोड ८ लाख ७५ हजार र संस्थापकतर्फ रू. १ अर्ब ४० करोड २७ लाख ७० हजार कायम हुनेछ । संस्थापकतर्फ नेपाल सरकारको रू. ३८ करोड ९५ लाख ४९ हजार २ सय २९, नेपाल राष्ट्र बैङ्कको रू. ७७ करोड ९३ लाख ७९ हजार १२ र नेपाल बैङ्कको रू. २३ करोड ३८ लाख ४१ हजार ७ सय ५९ रहनेछ ।
पूँजीवृद्धिका लागि संस्थानले बोनस, हकप्रद शेयर र आईपीओको बाटो रोजेको छ । आव २०७४/७५ मा संस्थापक र सर्वसाधारणतर्फको शेयर स्वामित्व कायम भएपछि हुने चुक्तापूँजी रू. ४५ करोड ८५ लाखको आधारमा १ बराबर ३ दशमलव ३७ को अनुपातमा रू. १ अर्ब ५४ करोड ५१ लाख ४५ हजारबराबरको हकप्रद शेयर जारी गर्ने योजना संस्थानको छ । हकप्रदपछि संस्थानको चुक्तापूँजी रू. २ अर्ब ३६ लाख ४५ करोड पुग्नेछ । संस्थानले बीमाङ्कीय मूल्याङ्कनबाट प्रक्षेपित अनुमानित बोनस शेयरमा थपघट हुन गएमा हकप्रद शेयर प्रतिशतमा पनि हेरफेर हुन सक्न बताएको छ ।
गत कात्तिक १७ गतेको ३०औं वार्षिक साधारणसभाबाट आव २०६५/६६ सम्मको वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गरको संस्थानको चुक्तापूँजी रू. १८ करोड १० लाख छ । बाँकी आवको बीमाङ्कीय मूल्याङ्कनबाट वार्षिक रू. २ करोडका दरले बोनस वितरण गर्ने योजना संस्थानको छ । बीमा समितिले पुराना बीमा कम्पनीको हकमा उचित कारण खुलाई म्याद थपको माग आएमा ६ महीनासम्मको अवधि थप गर्ने व्यवस्था गरेको छ । यस आधारमा बीमा संस्थानले उचित कारणदेखि समितिसमक्ष माग राखेमा चालू आर्थिक वर्षको पुस मसान्तभित्र पुर्याउन सक्ने व्यवस्था छ ।