ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

परम्परागत प्रविधिमै अल्झियो कृषि प्रणाली

Sep 5, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । कृषिमा आधुनिकीकरण गर्ने र किसानलाई आत्मनिर्भर बनाउने सरकारको प्राथमिकता भए पनि कृषिमा अपेक्षित सफलता हासिल भएको देखिँदैन । गण्डकी प्रदेशका ११ ओटै जिल्ला कृषि उपजका लागि उर्वर मानिन्छन् । मुस्ताङ र मनाङको स्याउ, गोरखाको सुन्तला, नवलपरासीको धान, पर्वतको लप्सी, बाग्लुङ र म्याग्दीको आलु खेती देशैभर चर्चित छन् । तर, यी कृषि उपजले व्यावसायिक रूप धारण गर्न सकेका छैनन् । बजारको अभाव, ढुवानीको समस्या, भण्डारणको अभाव, मजदुर र कृषि उपकरणको समस्या, मौसमको प्रतिकूलताजस्ता समस्या किसानले भोग्दै आएका छन् । त्यति मात्रै होइन, स्थानीय तहले कृषिलाई उपेक्षा गर्नु, कृषिको बजेट सडकमा खन्याउने प्रवृत्ति, बिचौलियाको बिगबिगी, सिँचाइको अभाव, परम्परागत कृषि प्रणाली आदिका कारण कृषि पेशा खाइखेतीमा सीमित हुन पुगेको विज्ञहरू बताउँछन् ।

गण्डकी प्रदेशमा ११ जिल्ला छन् । यस प्रदेशका करीब ७२ प्रतिशत घरधुरी कृषिमा निर्भर रहेको क्षेत्रीय कृषि निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । गण्डकी प्रदेशको ४ लाख ८७ हजार ५ सय ७७ हेक्टर जमीन खेतीयोग्य रहेकोमा ७५.९९ हेक्टर जमीनमा खेती गरिएको छ । यो प्रदेशमा खेतीयोग्य जमीनमध्ये २३ हजार ५ सय ५७ हेक्टर जमीन बाँझो रहेको प्रदेशको कृषि शाखाले जानकारी दिएको छ । १ लाख २५ हजार ५३ हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध छ । तर, बाह्रै महीना सिँचाइ सुविधा पुगेको क्षेत्र भने ६१ हजार ८ सय ४७ हेक्टर रहेको छ । ७१ हजार ९ सय ७७ हेक्टर जमीन मौसमी सिँचाइको भरमा छ । यस प्रदेशमा १५ लाख ५५ हजार २ सय ३५ व्यक्ति कृषिमा आश्रित छन् । ३ हजार ४ सय २४ ओटा किसान समूहले व्यावसायिक कृषि गर्दै आएको कृषि मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेशमा खाद्यान्नतर्फ धान, गहुँ, मकै, कोदो, फापर, जौ, उवा, दलहनतर्फ मास, मुसुरो, केराउ, रहर आदि, तेलहनतर्फ तोरी, सस्र्यूं, रायो, तिल, तरकारीमा काउली, बन्दा, मुला, गाजर, भण्टा, गोलभेँडा, आलु, फलफूलमा सुन्तला, स्याउ, केरा, ओखर, मेवा, लिची, भुइँकटहर किसानले उत्पादन गर्ने गरेको पाइएको छ ।

प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी उत्पादन क्षमता भएको जिल्ला नवलपरासी र कास्की हो । सबैभन्दा कम खाद्यान्न मुस्ताङ र मनाङमा हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतका बागवानी विकास अधिकृत सोनी राना खाद्यान्नमा समेत प्रदेश आत्मनिर्भर हुन नसकेको बताउँछिन् । ‘नेपालमा यस वर्ष ३० अर्बको चामल आयात भएको देखिन्छ,’ रानाले भनिन्, ‘कृषि उपज आयातको दर डरलाग्दो छ ।’ उनले चामलको खपत सबैभन्दा बढी रहेको बताइन् । तरकारी, फलफूल र बीउबिजन पनि आयात गर्नुपरेको उनले बताइन् ।

कृषि प्रविधिकका अनुसार अधिकांश किसान निर्वाहमुखी खेतीपाती गरेर मुस्किलले जीविका चलाइरहेका छन् । केही वर्षयता विदेश गएर फर्किएका युवा र केही अगुवा किसान व्यावसायिक खेती गर्न अगाडि बढेको देखिन्छ तर सरकारबाट व्यावसायिक किसानलाई प्रोत्साहित गर्ने गरी अनुदान, सहज रूपमा मल, बीउबिजन, सिँचाइको व्यवस्था, मूल्य निर्धारण र बजार व्यवस्थामा ध्यान नपुगेको कृषिविज्ञ तर्क गर्छन् । जनशक्ति अभावमा खेतीयोग्य जमीन बाँझिने क्रम बढिरहेको छ भने अर्कोतर्फ भूमाफियाका कारण जथाभावी प्लटिङ गरेर खेतीयोग्य जमीन बस्तीमा परिणत भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)