म्याग्दी । म्याग्दीको पश्चिम र उत्तरी क्षेत्रका लेकाली डाँडामा पर्याप्त मात्रामा पाइने बहुमूल्य जडीबुटीको उपयोग हुन सकेको छैन । जैविक विविधताले भरिपूर्ण धवलागिरि, नीलगिरि र अन्नपूर्ण हिमालका आसपासमा पाइने दुर्लभ जडीबुटीको सदुपयोग नहुँदा करोडौंको सम्पत्ति खेर गइरहेको छ । यस क्षेत्रका बासिन्दा उपयोगिताबारे अनभिज्ञ हुनुका साथै सरकारीस्तरबाट समेत अध्ययन–अनुसन्धान हुन नसक्दा हजारौं हेक्टर वनको जडीबुटी चौपायाको आहारा बनेको छ ।
आफ्नो क्षेत्रमा बहुमूल्य जडीबुटी पाइने भए पनि राज्यको ध्यान नपुग्दा खेर गइरहेको भन्दै मुदी गाउँका बासिन्दाले प्रशोधन केन्द्र स्थापनाको माग गरेका छन् । ‘सरकारी स्तरबाट खोज र अनुसन्धान नहुँदा यहाँका बहुमूल्य जडीबुटी छाडा गाई–भैंसीको आहार बनेको छ,’ मुदीका स्थानीय धनवहादुर विकले भने ।
यस क्षेत्रमा बहुमूल्य जडीबुटी यार्सागुम्बादेखि काउलो, तेजपत्ता, दालचिनी, समयो, जटामसी, सुनाखरी, विषजरा, सतुवा, सुनगाभा, भुतले, कुटकी, बोजो, चिराइतो, जामुने, मान्द्रो, उकु डाइना, सतुवा, कुरिलो, पाखनबेत, वनलसुन, सिलाजीतलगायत पर्याप्त मात्रामा पाइने स्थानीयको भनाइ छ । सुनाखरी सिटामोललगायत औषधि उत्पादनमा प्रयोग हुने अत्यावश्यक जडीबुटी हो । गाउँले बिमारी पर्दा ती जडीबुटीको कुनै न कुनै रूपमा प्रयोग गरिँदै आए पनि यसको व्यावसायिक प्रवद्र्धन हुन सकेको छैन । टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने, रक्तचापलगायत समस्यामा यहाँको जडीबुटी केही मात्रामा प्रयोग हुने गरेको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् ।