वीरेन्द्रनगर । सुर्खेतको बराहताल गाउँपालिका–५ र ८ मा खानेपानी आयोजना पुनः सञ्चालनमा आएको छ । नेपाल सरकारको ४ करोड ४७ लाख ६६ हजार २ सय ४५ रुपैयाँ लागतमा बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आयोजनाको थप स्तरोन्नति गरी घरघरमा खानेपानी पुर्याएको हो ।
समितिले २०६४ सालमा शुरू गरेको आयोजना २०७१ सालमा आएको बाढीले क्षति पुगी बन्द भएको थियो । समितिले स्थानीय दमारे खोला, कुण्टा खोला र सोतखोलाको पानी सङ्कलन गरी वितरण गर्न थालेको छ । शुरूमा १ सय ६४ सार्वजनिक धारामार्फत पानी वितरण गरेको समितिले भदौदेखि धारा थपेको जानकारी दिएको छ । समितिले आयोजनाको गुणस्तर सुधार गरी गुणस्तरयुक्त खानेपानी वितरण गरेपछि खोला र मुहानको पानीको प्रदूषित पानी पिउनुपर्ने बाध्यता टरेको छ । घरआगनमै खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन् ।
गर्मीयाममा पानीको समस्या र वर्षामा धमिलो पानी खानुपर्ने बाध्यता हटेको बराहताल गाउँपालिका–५ का स्थानीय चन्द्रा सुवेदीले बताइन् । ‘टोलभरी एउटा धारा थियो, कहिले पानी आउने कहिले नआउने समस्या थियो,’ उनले भनिन्, ‘धारामा धमिलो पानी आउने गरेकाले स्वास्थ्य समस्याले ग्रसित थियौं, अहिले त्यस्तो छैन ।’
उक्त खानेपानी आयोजना सम्पन्न भएपछि ३ हजार ५ सय ७७ जना प्रत्यक्ष लाभान्वित भएका छन् । तर, आयोजनाको मुहानमाथि खेतीयोग्य जमीन भएकाले किसानले विषादी प्रयोग हटाउनुपर्ने चुनौती थपिएको स्थानीयको भनाइ छ । स्वच्छ पानी खुवाउने लक्ष्यसहित आयोजनाले २ सय घनमिटरका दुईओटा आरसीसी ट्याङ्की र २८ घनमिटरका चारओटा सिमेण्ट ट्याङ्की निर्माण गरेको छ । दुईओटा मुहानदेखि १७ हजार ३ सय ८० मिटर प्रसारण लाइनमार्फत प्रतिसेकेण्ड १२ लिटर पानी मुख्य वितरण केन्द्रसम्म पु¥याइएको छ । आयोजनाले हाल ७ सय ७२ ओटा निजी, १० सार्वजनिक र न्यून आयस्तर भएका परिवारका लागि चारओटा धारा जडान गरेको छ । स्वस्थ पानी आगनमै पुगेपछि तरकारीखेती गर्नसमेत सकिएको स्थानीय डम्मर गरञ्जाले बताए ।