सुर्खेत । पूर्वी सुर्खेतको दशरथपुर र रामघाट जोड्नका लागि भेरी नदीमा निर्माण गर्ने भनिएको पक्की पुल निर्माण शुरू नहुँदै अलपत्र परेको छ । सडक विभागअन्तर्गतको पुल महाशाखाले गलत डिजाइन गर्दा निर्माण शुरू भएलगत्तै काम रोकिएको छ ।
पुल निर्माणका लागि महाशाखाले बनाएको नक्सामा पिल्लर उठाउनुपर्ने ठाउँमा चट्टान भेटिनुपर्ने थियो । तर, पुल निर्माणको काम शुरू गरेर पिल्लरका लागि जग खन्दा चट्टान नै नभेटिएपछि महाशाखाले तयार पारेको गलत डिजाइनको रहस्य खुलेको हो । सम्झौताअनुसार निर्माण सम्पन्न भइसक्नुपर्ने समय सकिन ६ महीना मात्र बाँकी रहँदा पुलको काम नै अघि बढ्नसकेको छैन ।
२०७३ पुस २ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले उक्त पुलको शिलान्यास गरेका थिए । शिलान्यासका क्रममा उनले भनेका थिए, ‘अब यहाँका नागरिकले भेरी तर्न डुङ्गा वा झोलुङ्गे पुलको भर पर्नुपर्ने छैन ।’ तर, शिलान्यास भएको २ वर्ष पुग्नै लाग्दासमेत दशरथपुर र रामघाटका नागरिक भेरी तर्न झोलुङ्गे पुलकै भर पर्दै आएका छन् ।
महाशाखाको बेवास्ता
पुल निर्माणको काम अघि बढाउन नयाँ नक्सा बनाउनुपर्ने हुन्छ । यसका लागि सडक डिभिजनले पहल नै नगरेको भने होइन । तर, पुल महाशाखाले बेवास्ता गर्दा काम अघि बढ्न सकेको छैन । सडक डिभिजनले डिजाइन पुनर्मूल्याङ्कनका लागि सडक विभागअन्तर्गतको पुल महाशाखामा पटक–पटक अनुरोध गर्दा पनि महाशाखाले सुनुवाइ नगरेको बताएको छ । कार्यालयका इञ्जिनीयर खुमबहादुर भण्डारीले पहिलेको डिजाइन पुनर्मूल्याङ्कन गरेर नयाँ नक्सा बनाएपछि मात्रै काम शुरू हुनसक्ने बताए ।
उनले डिजाइन पुनः अध्ययन हुने प्रक्रियामै भएकाले काम शुरू हुन नसकेको समेत जानकारी दिए । पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी सडक डिभिजन कार्यालयको मुख ताकेर बसिरहेको छ भने सडक डिभिजन कार्यालय भने पुल महाशाखाले डिजाइन रिभ्यू गर्ने प्रतीक्षामा छ, जसले गर्दा पुल निर्माण अघि बढ्न सकेको छैन ।
स्टील ट्रष्ट पुलको ठेक्का जेन्सी/पिसी/आशिष जेभीले लिएको छ । एक सय ५४ मिटर लामो पुल फुटपाथबाहेक ७ मिटर चौडाइको हो । भ्याट बाहेक २० करोड ९० लाख ८६ हजार रुपैयाँको लागतमा निर्माण हुने पुल २०७६ माघ ९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने हो । निर्माण कम्पनीले शिलान्यासलगत्तै पुल निर्माणका लागि काम शुरू गरेको थियो ।
कम्पनीले पुल निर्माणका लागि आवश्यक गिट्टी, बालुवा, सिमेण्ट र छड आयोजनास्थलमा खसालेको थियो । तर, दायाँतर्फको पिल्लर उठाउनुपर्ने जग खन्दा डिजाइनअनुसार चट्टान नभेटिएपछि काम रोक्नु परेको हो ।