सुर्खेत । आधुनिक शिक्षा पद्धतिको विकाससँगै गुरुकुल शिक्षाको प्रचलन घट्दै बेला सुर्खेतमा भने घरघरबाट बाली उठाएर गुरुकुल सञ्चालन गरिएको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा शिवधाम मन्दिर व्यवस्थापन समितिले विगत ४ वर्षदेखि गाउँमा बाली उठाएर गुरुकुल चलाउँदै आएको हो । समितिले विद्यालय सञ्चालनका लागि प्रतिबाली एक–एक पाथी खाद्यान्न सङ्कलन गर्ने गरेको छ ।
सरकारी अनुदानबाट मात्रै विद्यालय चलाउन कठिनाइ भएपछि बालीघरे प्रथा अवलम्बन गरिएको हो । समितिले २०६३ सालमा गठन गरेको गुरुकुल विद्यालय तदर्थ समितिले २०७२ वैशाख ८ गतेदेखि अध्ययनअध्यापन थालेको हो । गुरुकुल सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालय, सुर्खेतले २०७३ सालमा अनुमति दिएको थियो ।
२ कक्षासम्म सञ्चालनको अनुमति पाएको उक्त गुरुकुलमा हाल ४ कक्षासम्म पढाइ हुँदै आएको छ । ‘प्रत्येक वैशाखमा भर्ना लिइन्छ, विद्यार्थीलाई खानेबस्ने र गम्छा, धोतीलगायत लत्ताकपडाको समेत सुविधा छ,’ प्रधानाध्यापक वासुदेव शर्माले भने, ‘६/६ महीनामा प्रतिपरिवार एक÷एक पाथी बाली उठाउने गरेका छौं ।’ मन्दिरबाट आउने भेटी, चामल, पीठोसमेत विद्यालयले लिने गरेको छ ।
गुरुकुल सञ्चालनका लागि पञ्चपुरी नगरपालिका–३, ५, ६, ८ र ९ वडाबाट बाली सङ्कलन गरिन्छ । विद्यालयमा संस्कृत पाठ्यपुस्तकका साथै सरकारले अनिवार्य गरेका विषयसमेत पढाउने गरिएको छ । विद्यालयमा हाल १८ जना छात्र अध्ययनरत छन् ।
गुरुकुलमा अध्ययनका लागि कर्णाली प्रदेश र ७ नम्बर प्रदेशबाट विद्यार्थी आउने गरेका छन् । कर्णाली प्रदेशका दैलेख, सुर्खेत र जाजरकोटका केही धार्मिक गुठीमा गुरुकुलीय शिक्षा पढाइ हुन्छ । विद्यालयमा दलित, जनजाति, पिछडा वर्गलगायतलाई समेत पढ्न पाउने व्यवस्था छ ।
पूर्वाधार अभाव, अनुदान अपुग
विद्यालय सञ्चालनका लागि सरकारले चालू आर्थिक वर्षमा १ लाख ८८ हजार अनुदान दिएको छ । विद्यालयमा तीनजना शिक्षक, एकजना कार्यालय सहयोगी र एक भान्सेसहित पाँच कर्मचारी छन् । पर्याप्त दरबन्दी नहुँदा विद्यालय सञ्चालनमा समस्या रहेको प्रधानाध्यापक शर्माले बताए । ‘विद्यालयका लागि भौतिक पूर्वाधारको अभाव छ,’ उनले भने, ‘मन्दिर व्यवस्थापन समितिले वृद्धाश्रमका लागि बनाइएको भवनमा कक्षा सञ्चालन भइरहेको छ ।’
आश्रमका लागि मन्दिर परिसरमा टिन लगाइएको चारकोठे भवन बनाइएको छ । भौतिक पूर्वाधार, शैक्षिक सामग्री तथा प्रविधिको अभावले विद्यालय सञ्चालनमा कठिनाइ भएको प्रधानाध्यापक शर्माले गुनासो गरे । ‘विद्यालयका लागि आवश्यकताअनुसार भवन र शैक्षिक सामग्री छैनन्,’ उनले भने ।
पञ्चपुरी नगरपालिकाले चालू आर्थिक वर्षमा समग्र शिक्षाक्षेत्रको सुधारका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, गुरुकुल शिक्षाका लागि भने बजेटले सम्बोधन गरेको छैन । नगरपालिका प्रमुख उपेन्द्र थापाले भने गुरुकुल विद्यालयको भवन निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने बताए ।