ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा लगानी गर्न दातृनिकाय इच्छुक

Sep 7, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । अन्तरराष्ट्रिय दातृनिकायले कर्णाली प्रदेशमा लगानी गर्न चासो देखाएका छन् । कोरिया इण्टरनेशनल को–अपरेशन एजेन्सी (कोइका)ले कर्णाली प्रदेश सरकारसँग सहकार्य गरी प्रदेशको विकासमा लगानी गर्ने इच्छा देखाएको हो । संस्थाले कर्णालीमा बहुप्राविधिक शिक्षालगायत भौतिक पूर्वाधारमा सहयोगको इच्छा देखाएको छ । कोइकाले बहुप्राविधिक शिक्षासँगै सडक, खानेपानी, सिँचाइ, विद्युत्, पर्यटनलगायत क्षेत्रको विकासमा सहयोग गर्न सकिने बताएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् । ‘दाताले सहयोग गर्छौं भनेपछि संविधानबमोजिम सङ्घीय सरकारसँग लगानी गर्ने वातावरण मिलाइदिन अनुरोध गरिएको छ,’ उनले भनिन् । कर्णालीको विकासमा सहायता सञ्चालन गर्न सङ्घीय सरकारको अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको केसीले बताइन् । ‘प्रदेश सरकारले कर्णालीको विकास र समृद्धिका लागि बाह्य लगानी भिœयाउने योजना बनाइरहेको बेला दातृनिकाय आफै लगानीका लागि इच्छुक देखिनु सकारात्मक छ,’ उनले भनिन् । यसैबीच, प्रदेश मन्त्रिपरिषद्को सोमवार सम्पन्न बैठकले प्रदेश सरकारको आफ्नै संरचना निर्माण अघि बढाउने निर्णयसमेत गरेको छ । यसका लागि आवश्यक संरचना, कर्मचारी दरबन्दी व्यवस्थापनलगायत काम थालिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि अस्थायी संरचना निर्माण गर्ने भएको हो । मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित तत्कालीन सङ्गठन संरचना, दरबन्दी तथा कार्यालय रहने स्थान स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । ‘कर्णालीको आयस्रोत र खर्चको अनुपात मूल्याङ्कन गरी कर्मचारी व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ मन्त्री केसीले भनिन्, ‘काम चलाउसँगै स्थायी संरचना निर्माणका लागि प्रदेश सरकारले तयारी थालेको हो ।’ मन्त्रिपरिषद्को बैठकबाट प्रस्तावित संरचनाको विवरण नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)