ओत लाग्न पाएनन् विस्थापित : त्रिपालमुनि बाढीपीडितका ४ वर्ष
Sep 7, 2018
 
प्रदेश समाचार
सुर्खेत । वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा त्रिपालमुनि बस्दै आएकी लक्ष्मी कामीको दिनचर्या निकै कष्टकर छ । ४ वर्षअघि बाढीका कारण घरबारविहीन बनेकी उनी अहिले पनि च्यातिएको त्रिपालमुनि रात काट्न बाध्य छिन् ।
मध्यरातमा भेरीमा आएको बाढीले तातापानीमा सुर्जा नेपालीको घरखेत सबै बग्यो । बल्लबल्ल ज्यान जोगाएर ४ वर्षदेखि बाबियाचौरको जङ्गलमा बस्दै आएको उनको परिवार छानामुनि बस्ने सपना बुनिरहेको छ । तर, सरकारले पुनःस्थापनाको प्रक्रिया अगाडि नबढाउँदा यो परिवारको छानामुनि बस्ने सपना अधुरै छ ।
गिरीघाटस्थित विस्थापित शिविरमा बस्दै आएका पहलमान पुन कयौं रात निदाउन सकेनन् । छाक काटेर जोडेको घरबारी भेरीमा आएको बाढीले बगायो । बुढेसकालमा जङ्गलमा त्रिपालमुनि रात काट्नुपर्दा उनलाई देशमा राज्य नै नभएको अनुभूति भइरहेको छ । ‘हामी विस्थापित भएको ४ वर्ष बिते, आजसम्म हाम्रो पुनःस्थापना हुन सकेन,’ उनले भने, ‘राज्यले हामीलाई सौतेनी व्यवहार गर्यो ।’
बाढीका कारण जिल्लाभर करीब ९ सय परिवार विस्थापित भएका थिए । तर, हालसम्म पनि पुनःस्थापना नहुँदा अधिकांश परिवार त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य छन् ।
गर्भवती र सुत्केरीको बिजोग
विस्थापित शिविरमा बस्दै आएकी निर्मला नेपाली सुत्केरी भएको ३ साता मात्र भयो । नियमित स्वास्थ्य जाँच गराए पनि आर्थिक अभावका कारण उनले पोषिलो खानेकुरा पाउन सकेकी छैनन् । साउने झरीले त्रिपाल चुहिँदा उनलाई आफ्नो र बच्चाको शरीर पानीबाट जोगाउनै मुश्किल हुने गरेको छ । त्रिपालकै बासमा आमा बनेकी निर्मला पोषणयुक्त खानेकुरा त परको कुरा, छाक नै कसरी टार्ने भन्ने समस्याले थलिएकी छन् । शिविरमा पर्याप्त स्याहार नपाउँदा बच्चाको स्वास्थ्यमा पनि समस्या छ ।
निर्मला मात्रै होइन, शिविरमा बसेदेखि सुत्केरी भएका महिलामा विभिन्न स्वास्थ्य समस्या देखिएको छ । शिविरका सुत्केरी महिलाले आर्थिक अभावका कारण औषधि उपचारसमेत गर्न पाएका छैनन् । ‘हाम्रो शिविरमा ४ वर्षमा आठ बालबालिका जन्मेका छन्,’ शिविरमा बस्दै आएकी विमला दमाईले भनिन्, ‘यो त्रिपालमा गर्भवती र सुत्केरीको बिजोग नै छ ।’
ऋणले थला परे विस्थापित
वीरेन्द्रनगरमा कर्कट पाताले छाएको तीनकोठे घर थियो वीरबहादुर नेपालीको । सस्तोमा जग्गा पाएपछि उनले ऋण काढेर ओत लाग्ने घर बनाए । बल्लतल्ल जोडेको त्यही घर बाढीमा बगेपछि उनको परिवार त्रिपालको शरणमा पुग्यो । घर बनाउँदा लागेको ऋण ज्याला मजदूरीबाट कमाएर तिर्ने योजना बनाएका उनले शिविरमा बसेदेखि तिर्न सकेका छैनन् । ‘पटक–पटक बिरामी हुँदा भएको पैसा पनि उपचारमा सकियो,’ वीरबहादुरकी पत्नी पवित्रा नेपालीले भनिन्, ‘ज्याला मजदूरीबाट आएको पैसाले छाक टार्नै समस्या छ, अब त्यो ऋण कसरी तिर्ने ?’ वीरबहादुरको परिवार त उदाहरण मात्र हो, विस्थापित शिविरमा बस्दै आएका अधिकांश परिवार अहिले ऋणले थलिएका छन् ।
समितिले काम थाल्यो
बाढीपीडितको पुनःस्थापनका लागि कर्णाली प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय समितिले काम शुरू गरेको छ । साउन ६ गतेको मन्त्रिपरिषद्को बैठकबाट गठित समितिले जिल्लामा रहेका बाढीपीडित शिविरमा पुगेर प्रारम्भिक अध्ययन थालेको हो । जिल्लामा रहेका १० ओटा विस्थापित शिविरमा पुगेर वास्तविक पीडितको पहिचान र उनीहरूको अवस्थालगायतको तथ्याङ्क सङ्कलनको काम थालिएको समितिका सदस्य यज्ञप्रसाद ढकालले बताए ।