सुर्खेत । पश्चिम सुर्खेतको वराहताल गाउँपालिकामा रहेको बडीचौर खानेपानी आयोजना ११ वर्षपछि सञ्चालनमा आएको छ । विभिन्न कारणले निर्माणमा ढिलासुस्ती भएको उक्त खानेपानी आयोजना सङ्घीय सरकारले आर्थिक सहयोग गरेपछि सम्पन्न भएको हो ।
३ करोड ३४ लाख ८९ हजार लागतमा खानेपानी आयोजना सम्पन्न भएको खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुनकुमार बुचामगरले जानकारी दिए । ‘२०६४ सालदेखि निर्माण शुरू भएको खानेपानी आयोजना ११ वर्षपछि सञ्चालनमा आएको छ,’ उनले भने । सरकारको ८० प्रतिशत लगानी रहेको सो आयोजना हालै खानेपानी तथा सरसफाइमन्त्री विना मगरले उद्घाटन गरेकी छिन् ।
मन्त्री मगरले सबै नागरिकलाई निःशुल्क खानेपानीको व्यवस्था गरिने बताएकी छिन् । स्वच्छ र सफा पानी पिउन पाउने नागरिकको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रका खानेपानी समस्या समाधान गरिने उनको भनाइ छ । उनका अनुसार सबै नागरिकलाई स्वच्छ खानेपानी पु¥याउन सरकारले प्राथमिकता दिएर बजेट छुट्ट्याएको छ । खानेपानी सञ्चालनमा आएसँगै वराहताल क्षेत्रका स्थानीयवासीलाई शुद्ध पानी पिउन सहज हुने उनले बताइन् ।
उक्त आयोजनाबाट वराहताल गाउँपालिकाका–५ र ८ का करीब २ हजार घरपरिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् । आयोजना सरकारको २ करोड ९७ लाख ८९ हजार र उपभोक्ता समितिको ३७ लाख लागतमा सम्पन्न भएको अध्यक्ष बुचामगरले बताए ।