ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा औषधी उद्योग स्थापना गरिने, सामाजिक विकास मन्त्रालयद्वारा बजेट बाँडफाँट

Sep 11, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

भदौ २६, सुर्खेत । सुर्खेतमा दुई ओटा औषधी उद्योग स्थापना गरिने भएको छ । कर्णाली जडिबुटीको खानी भएकाले प्रदेशका जडिबुटीहरुको सदुपयोग गर्ने गरी सुर्खेतमा औषधी उद्योग स्थापना गर्ने योजना मन्त्रालयले अघि सारेको हो । कर्णालीलाई आत्मनिर्भर बनाउने योजना अन्तर्गत औषधी उद्योग स्थापना गर्न लागिएको मन्त्रालयले बताएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सुर्खेतमा जडिबुटीमा आधारित एउटा औषधि उद्योगको अध्ययन र त्यसको शुरुआत गर्नका लागि यस वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट पहिलो चौमासिकमा पाँच लाख र दोस्रो चौमासिकमा पाँच लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिइएको छ ।

मन्त्रालयले सुर्खेतमा नै अर्को एक औषधी उद्योग स्थापनाका लागि आवश्यक अध्ययन गर्न १० लाख रुपैयाँ नै बजेट छुट्याएको छ । पहिलो वर्ष औषधी उद्योग स्थापनाका लागि अध्ययन गरिने र अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा आगामी वर्षदेखि उद्योग स्थापनाको काम गरिने बताईएको छ । जिल्लामा दुई ओटा औषधी उद्योग स्थापना गर्ने लक्ष्यसहित सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७५/०७६ का लागि स्वीकृत बजेटको बाँडफाँट गरेको हो । एक अर्ब ६९ करोड रुपैयाँ बराबरको कार्यक्रमका लागि बजेट बाँडफाँट गरिएको हो ।

बजेटको सीमा, प्रदेशको भूगोल र आवश्यकतालाई आधार बनाएर स्वास्थ्य, शिक्षा लगायत सामाजिक संरचना अन्तर्गत चालू आवको बजेट खर्चिने गरी मन्त्रालयले कार्यक्रम तयार पारेको छ । मन्त्रालयले कर्णालीको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि कार्यक्रम बनाएको छ । स्वास्थ्य संस्थाहरुको स्तरोन्नतिदेखि मर्मत सम्भारलाई प्राथमिकता दिएको प्रदेश सरकारले कर्णालीबासीलाई भरपर्दो स्वास्थ्योपचार पुर्‍याउन विभिन्न कार्यक्रम तय गरेको छ । चालू आर्थिक वर्षमा सरकारले नै एम्बुलेन्स खरीद, विशेषज्ञसहितको घुम्ती शिविर सञ्चालन, औषधी उद्योग स्थापना, स्वास्थ्य प्रहरी कार्यक्रम लागू गर्नुका साथै आकस्मिक स्वास्थ्य कोष स्थापना लगायतका कार्यक्रमहरुका लागि बजेट विनियोजन गरेको छ ।

कुन शीर्षकमा कति बजेट ?

कर्णालीका १० जिल्लामा मागका आधारमा एम्बुलेन्स वितरण गर्ने योजना बनाइएको छ । जसका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । मन्त्रालयले डोल्पा र हुम्लामा अक्सिजन प्लाण्ट स्थापना तथा सञ्चालन गर्ने भएको छ । जिल्ला अस्पताल हुम्ला र डोल्पामा अक्सिजन प्लाण्ट निर्माण तथा सञ्चालनका लागि मन्त्रालयले एक/एक करोड रुपैयाँ बजेट छुट्याएको मन्त्रालयले बताएको छ ।

यस्तै, १० ओटै जिल्लामा विशेषज्ञ डाक्टरसहितको घुम्ती शिविर सञ्चालन गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको छ भने स्वास्थ्य प्रहरी कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले २० लाख रुपैयाँ बजेट छुट्याएको छ । मन्त्रालयले प्रदेशका १० ओटै जिल्ला लक्षित गरी एक करोड रुपैयाँ बराबरको आकस्मिक स्वास्थ्य कोष स्थापना गर्ने भएको छ ।

यसैगरी दैलेख, हुम्ला, रुकुम र जाजरकोट जिल्ला अस्पतालको स्तरोन्नतिका लागि दुई करोड, सुर्खेतमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माणका लागि तीस लाख, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रादेशिक शिक्षण अस्पतालको रुपमा विकास गर्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ । सुर्खेतमा रक्तसञ्चार केन्द्र विस्तारका लागि १० लाख, १० ओटै जिल्लामा आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकसहितको घुम्ती स्वास्थ्य शिविर सञ्चाल गर्न एक करोड, प्रदेशस्तरीय आयुर्वेद ग्रामीण फार्मेसी स्थापनाका लागि २५ लाख, प्रदेशस्तरमा चिकित्सा शिक्षा शिक्षण कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन र सञ्चालनका लागि पाँच लाख, बर्थिङ सेण्टरहरुको स्तरोन्नतिका लागि ५० लाख, मानसिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)