ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मराङ खोलाको बाढीले पुल बगायो

Sep 12, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । लगातारको वर्षापछि आएको बाढीले म्याग्दीको मराङ खोलामा झोलुङ्गे पुल बगाएको छ । धवलागिरि गाउँपालिका–६ मराङको ठूलो र साना खोलामा आएको बाढीले ठूलो खोलाको पुल बगाउनुका साथै घरहरू पनि जोखीममा पारेको छ । बाढीका कारण खेतबारीका लगाएको धान र कोदोमा समेत क्षति पुगेको छ । झोलुङ्गे पुल बगाएपछि आवतजावत अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजाराम सुवेदीले बताए । पुल बगाएपछि मराङका विभिन्न बस्तीका साथै मल्कवाङ, भेडीखाल्टा र छिमेकी रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले क्षेत्रका बासिन्दालाई समस्या भएको छ । यस्तै, पुल क्षतिग्रस्त हुँदा जनविकास माविका विद्यार्थी विद्यालय जान सकेका छैनन् । यसबाट उनीहरूको पढाइ रोकिएको स्थानीय गमबहादुर गर्बुजाले बताए । सानोखोलाले स्थानीय अमर पुन, टेकप्रसाद गर्बुजा, रघुनाथ सुवेदी, हेमबहादुर पुन र भक्तबहादुर पुनको घरका साथै ठूलोखोलाले लघु जलविद्युत् आयोजना, श्रीप्रसाद गर्बुजाको घर र हरिहर गलेश्वर मन्दिर उच्च जोखीममा परेको छ । यस्तै, पहिरोले सिँचाइ कुलोका साथै खेतीयोग्य जमीनमा क्षति पु¥याएको छ । मराङका १ दर्जन घरधुरी पहिरोको जोखीममा परेका छन् । जनजीवन कष्टकर यसैबीच, सोमवार रातिको वर्षापछि आएको पहिरोले जिल्लाको रघुगङ्गा–८ दुवाडी र धवलागिरि गाउँपालिका–५ मलम्पारको जनजीवन कष्टकर बनाएको छ । पहिरोले घ्याँसीखर्क दुवाडी हुँदै पात्लेखर्क जाने बाटोमा पर्ने छहरी खोलामा रहेको काठको पुल बगाएको छ । पुल बगाउँदा आवतजावतमा कठिनाइ भएको छ । पुल बगाएपछि विद्यार्थीहरू बढी मर्कामा परेको खप्रसाद छन्त्यालले बताए । पहिरोले छहरेखोला लघु जलविद्युत् परियोजनाका चारओटा पोल ढालेपछि ३५ घरपरिवारमा विद्युत् अवरुद्ध भएको छ । पहिरोले विभिन्न ठाउँमा पैदलमार्गसमेत बगाएको छ । यस्तै, दुवाडी गाउँका पदम छन्त्याल र रूपेश छन्त्यालको खेतबारी पहिरोमा पुरिएको छ भने बारीमा लगाएको कोदो र सिमी नष्ट भएको छ । यसैगरी धवलागिरि गाउँपालिका–५ मलम्पारमा जमीन भासिन र पहिरो खस्न थालेपछि ४ घर जोखीममा परेको घनबहादुर परियारले बताए । जमिन भासिएर पञ्चमाया विकको घर बस्नै नमिल्नेगरी भत्किने बनेको छ । यस्तै, मनबहादुर छन्त्याल, ओमबहादुर छन्त्याल र देउकुमारी विक पहिरोको घर जोखीममा परेपछि विस्थापित भएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)