पर्वत । पर्वतमा सङ्घीय सरकारले पुराना कार्यालय खारेज गरेर स्थापना भएका नयाँ कार्यालय सुनसान छन् । कार्यालयमा कर्मचारी आउजाउ गर्छन्, तर सेवाग्राही आउँदैनन् ।
जिल्लामा साविकको कृषि विकास कार्यालय खारेज गरी कृषि ज्ञान केन्द्र स्थापना भएको छ । वन कार्यालयको बोर्ड फेरेर डिभिजन वन कार्यालय र जिल्ला भूसंरक्षण कार्यालयको ठाउँमा भू तथा जलाधार व्यवस्थापन कार्यालय बन्यो । सिँचाइ सब डिभिजन कार्यालय जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बन्यो । भदौ महीनामै ४ ओटा नयाँ कार्यालय खोलिए । बोर्ड फेरेर नयाँ नाम पाएका कार्यालयले भूमिका भने पाएका छैनन् ।
‘कार्यालयमा हाजिर गर्ने फर्किने मात्र भएको छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख तोकिएका वासुदेव रेग्मीले भने, ‘काम केही छैन, समय कटाउनै मुस्किल भयो ।’ रेग्मीले मन्त्रालयबाट जिम्मेवारी नतोक्दा आफ्नो पदसमेत के हो भन्न चाहेनन् । प्रमुखसहित ज्ञान केन्द्रमा १६ कर्मचारीको दरबन्दी हुने बताइएको छ । कार्यालयको ठूलो गेटमा चाबी लगाइएको छ । भित्र कर्मचारी मात्रै देखिन्छन् बाहिर सुनसान ।
वन डिभिजन कार्यालयको पनि समस्या उस्तै छ । कर्मचारीहरू कसरी काम गर्ने भन्नेमै अलमलमा परेका छन् । भदौ पहिलो साता जिल्ला वन कार्यालयबाट बोर्ड फेरेर वन डिभिजनमा स्तरोन्नति भएको यो कार्यालयमा पनि अहिलेसम्म बजेट आएको छैन । कर्मचारीहरूको जिम्मेवारी पनि तोकिएको छैन ।
साविकको जिल्ला वन कार्यालयका कर्मचारी पुरानै तरीकाको जिम्मेवारीमा काम गर्दै आएका छन् । सूचना अधिकारी माधुरी खड्काले भनिन्, ‘हामीले काम कसरी गर्ने भन्ने नै मेसो पाएनौं । कामको बाँडफाँट र जिम्मेवारी नदिँदा समस्या भयो ।’ उनले थपिन्, ‘बजेट र कार्यक्रम अल्लि परको कुरा भयो । हामीले त ३ महीनादेखि तलबसमेत पाएका छैनौं ।’
जिल्ला वनसहित साविकका ८ ओटा इलाका वन कार्यालय पनि नयाँ नाममा रूपान्तरित भएका छन् । जिल्लामा वन डिभिजन हुँदा गाउँमा रहेका इलाका वन कार्यालय वन सब–डिभिजन कार्यालयमा रूपान्तरित भएका हुन् । दरबन्दी अनुसारका कर्मचारी नहुँदा काम गर्नै अन्योल रहेको कार्यालयका कर्मचारी बताउँछन् । कतिपय कर्मचारीहरू अन्यत्रै सरुवा हुने हो कि भन्ने त्रासमा छन् ।
भदौ ६ गतेदेखि साविकको सिँचाइ विकास सब–डिभिजन कार्यालयबाट स्तर वृद्धि गरी स्थापना भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमा पुराना कर्मचारीलाई हाजीर गरेरै दिन कटाएका छन् । ‘कार्यालयको बोर्ड हटाएर नयाँ राख्न परिपत्र आएको थियो,’ सबइञ्जिनीयर दिनेश तिमिल्सिनाले भने, ‘अरू नयाँ केही आदेश र अख्तियारी आएको छैन । कार्यालयमा कामकाज छैन ।’
साविकको सिँचाइ विकास सब–डिभिजन कार्यालयकै ११ जना दरबन्दी हालको डिभिजन कार्यालयमा कायम छ । सवारीचालक र कार्यालय सहयोगीको पद हटाएर २ जना इञ्जिनीयर थप हुने जानकारी आए पनि कार्यालय प्रमुखकै टुङ्गो नहुँदा सबै कर्मचारी अन्योलमा छन् ।