ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा औषधि उद्योग स्थापना गरिने

Sep 12, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । सुर्खेतमा दुईओटा औषधि उद्योग स्थापना गरिने भएको छ । प्रदेशका जडीबुटीको सदुपयोग गर्ने गरी सुर्खेतमा औषधि उद्योग स्थापना गर्ने प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले योजना अघि सारेको हो । कर्णालीलाई आत्मनिर्भर बनाउने योजनाअन्तर्गत औषधि उद्योग स्थापना गरिने मन्त्रालयको भनाइ छ । मन्त्रालयले सुर्खेतमा जडीबुटीमा आधारित एउटा औषधि उद्योगको अध्ययन र त्यसको शुरुआत गर्न यस वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट चालू आवको पहिलो र दोस्रो चौमासिकमा ५÷५ लाखका दरले खर्च गर्ने लक्ष्य लिइएको छ । मन्त्रालयले सुर्खेतमै थप अर्को औषधि उद्योग स्थापनाका लागि आवश्यक अध्ययन गर्न १० लाख रुपैयाँ बजेट छुट्याएको छ । पहिलो वर्ष औषधि उद्योग स्थापनाका लागि अध्ययन गरिने र अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा आगामी वर्षदेखि उद्योग स्थापनाको काम गरिने बताइएको छ । जिल्लामा दुईओटा औषधि उद्योग स्थापना गर्ने लक्ष्यसहित सामाजिक विकास मन्त्रालयले चालू आव २०७५/७६ का लागि स्वीकृत बजेटको बाँडफाँट गरेको हो । १ अर्ब ६९ करोड रुपैयाँबराबरको कार्यक्रम बजेट बाँडफाँट गरिएको हो । बजेटको सीमा, प्रदेशको भूगोल र आवश्यकतालाई आधार बनाई स्वास्थ्य, शिक्षालगायत सामाजिक संरचनाअन्तर्गत चालू आवको बजेट खर्चिने गरी मन्त्रालयले कार्यक्रम तयार पारेको छ । कर्णालीवासीलाई भरपर्दो स्वास्थ्योपचार पुर्‍याउन प्रदेश सरकारले विभिन्न कार्यक्रम तय गरेको छ । चालू आवमा सरकारले नै एम्बुलेन्स खरीद, विशेषज्ञसहितको घुम्ती शिविर सञ्चालन, औषधि उद्योग स्थापना, स्वास्थ्य प्रहरी कार्यक्रम लागू र आकस्मिक स्वास्थ्य कोष स्थापनालगायत कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । कर्णालीका १० जिल्लामा मागका आधारमा एम्बुलेन्स वितरण गर्ने योजना बनाइएको छ । यो योजनाका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । मन्त्रालयले डोल्पा र हुम्लामा अक्सिजन प्लाण्ट स्थापना तथा सञ्चालन गर्ने भएको छ । जिल्ला अस्पताल हुम्ला र डोल्पामा अक्सिजन प्लाण्ट निर्माण तथा सञ्चालनका लागि १÷१ करोड रुपैयाँ बजेट छुट्याएको मन्त्रालयले बताएको छ । यस्तै, १० ओटै जिल्लामा विशेषज्ञ डाक्टरसहितको घुम्ती शिविर सञ्चालन गर्न १ करोड विनियोजन गरिएको छ भने स्वास्थ्य प्रहरी कार्यक्रम सञ्चालन गर्न २० लाख रुपैयाँ बजेट छुट्याइएको छ । मन्त्रालयले प्रदेशका १० ओटै जिल्ला लक्षित गरी १ करोड रुपैयाँबराबरको आकस्मिक स्वास्थ्य कोष स्थापना गर्ने भएको छ । क्षेत्रीय अस्पतालमा सिटीस्क्यान सेवा शुरू मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटीस्क्यान सेवा शुरू भएको छ । सङ्घीय सरकारको ३ करोड ५० लाख रुपैयाँको आर्थिक सहयोगमा उक्त सेवा सञ्चालनमा आएको हो । अस्पतालले सोमवारदेखि उक्त सेवा शुरू गरेको छ । बिरामीले निजी अस्पतालभन्दा ५० प्रतिशत सहुलियतमा सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. डम्मर खड्काले जानकारी दिए । यसअघि सिटीस्क्यान सेवा लिन कर्णाली प्रदेशका सेवाग्राहीलाई बाँके जानुपर्ने बाध्यता थियो । अब अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आएसँगै सर्वसाधारणलाई सर्वसुलभ सेवा पुग्ने अपेक्षा गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)