सुर्खेत । कर्णाली प्रदेशमा यस वर्ष पनि खाद्यान्न अभाव हुने भएको छ । स्थानीयस्तरमा पर्याप्त उत्पादन नहुँदा प्रदेशका ७ जिल्लामा खाद्यान्न अभाव हुने देखिएको हो । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अध्ययनअनुसार कर्णालीका ७ जिल्लामा १८ हजार ५ सय मेट्रिक टन खाद्यान्न अपुग हुने प्रक्षेपण गरिएको छ ।
प्रदेशका १० मध्ये ३ जिल्लामा मात्रै खाद्यान्न पुग्ने गरेको तथ्याङ्कले देखाएको छ । प्रदेशका सुर्खेत, रुकुम र सल्यानमा मात्रै स्थानीय बासिन्दाका लागि आवश्यकभन्दा बढी खाद्यान्न उत्पादन हुने गरेको तथ्याङ्क छ । सुर्खेतमा ४ हजार ५ सय ५, रुकुममा २ हजार ६ सय ६४ र सल्यानमा १३ हजार ६ सय ३० मेट्रिक टन खाद्यान्न वार्षिक बचत हुने गरेको मन्त्रालयको ठहर छ । तर, प्रदेशका हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट र दैलेखमा हरेक वर्ष खाद्यान्न अभाव हुुँदै आएको मन्त्रालयले बताएको छ ।
ती जिल्लामा १८ हजार ५ सय मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको मन्त्रालयका सचिव शिवनारायण चौधरीले जानकारी दिए । उनले प्रदेशका खेतीयोग्यमध्ये अधिकांश जमीनमा सिँचाइ सुविधा नहुँदा पर्याप्त खाद्यान्न उत्पादन हुन नसकेको बताए । कर्णालीमा २ लाख ९९ हजार ३ सय ३९ हेक्टर खेतीयोग्य जमीन छ । यसमध्ये २ लाख १६ हजार ८ सय ८० हेक्टर जमीनमा ३ लाख ३९ हजार ९ सय ९ मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । जब कि कर्णालीमा वार्षिक ३ लाख ५८ हजार ३ सय १६ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । ३८ हजार ३३ हेक्टरमा मात्रै वर्षभरि सिँचाइ हुने गरेको छ ।
जापनाद्वारा साढे ३२ करोड बराबरको चामल सहयोग
जापान सरकारले नेपाल खाद्य संस्थानलाई ३२ करोड ४८ लाख रुपैयाँ बराबरको (५१७४.०४० मेट्रिक टन) चामल सहयोग उपलब्ध गराएको छ । दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको सम्झौता कार्यक्रमअन्तर्गत उक्त सहयोग प्राप्त भएको हो । सोमवार काठमाडौंमा आयोजित चामल हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई चामल हस्तान्तरण गरेका हुन् । राजदूत साइगोले नेपालको कृषि, पर्यटनलगायत क्षेत्रको विकासमा सहयोग पुर्याउने नीति रहेको बताए ।
खाद्य संस्थानका अध्यक्ष नवराज ढकाल र महाप्रबन्धक योगेन्द्र गौचनले खाद्य उत्पादनमा समस्या रहेका हुम्ला, जुम्ला, डोल्पा, मुगुलगायत हिमाली जिल्लाका गरीब जनताको सहयोगका लागि जापान सरकारले विगतमा पनि विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराए । जापानबाट यस वर्ष करीब ४९ हजार मेट्रिक टन अनुदानको चामल नेपाल आइपुगेको संस्थानकी वरिष्ठ अधिकृत ज्ञानु थापाले बताइन् । उनले जापानबाट सन् २०१८ कोटाको अनुदान चामलसमेत आउने तयारी रहेको जानकारी दिइन् ।
खाद्यान्न अभाव भएका जिल्लामा दशैंअघि चामल पठाइँदै
खाद्यान्न अभाव हुने जिल्लामा दशैंअगावै चामल पठाइने नेपाल खाद्य संस्थान शाखा सुर्खेतले बताएको छ । चाडपर्वलाई लक्षित गरी कर्णालीका खाद्यान्न अभाव हुने जिल्लामा दशैंअगावै चामल ढुवानी गर्ने सम्पूर्ण तयारी पूरा भएको संस्थानका सुर्खेत शाखा प्रबन्धक भीमबहादुर थापाले बताए ।
संस्थानमा अहिले २५ हजार क्विण्टल चामल मौज्दात रहेको थापाले जानकारी दिए । अहिले पनि प्रत्येक जिल्लाका खाद्य डिपोमा खाद्यान्न मौज्दात रहेको हुँदा यसपटक दशैं र तिहारमा खाद्यान्नको अभाव नहुने समेत थापाको भनाइ छ ।