धनगढी । प्रदेश नम्बर ७ मा निर्माणाधीन सडक आयोजनाको प्रगति सुस्त देखिएको छ । प्रदेशभित्र १ दर्जन सडक आयोजना निर्माणाधीन रहे पनि लक्ष्यअनुरूप काम हुन नसकेको हो ।
कैलाली–कञ्चनपुर जोड्ने हुलाकी सडक आयोजनाको निर्माणमा ढिलासुस्ती भइरहेको छ । डोकेबजारदेखि बेलौरी र बेल्डाँडी हुँदै दैजीसम्मको ६४ किलोमिटर सडक निर्माणको म्याद आगामी फागुनमा सकिँदै छ । तीनओटा प्याकेजमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी उक्त सडकको सम्झौता भएको थियो । सडकको कार्यप्रगति हाल ३० प्रतिशत मात्रै भएको आयोजना कार्यालय, धनगढीले बताएको छ ।
महाकाली कोरिडोर भनेर चिनिने कञ्चनपुरको महेन्द्रनगर ब्रह्मदेवदेखि दार्चुलाको तिङ्कर जोड्ने सडक निर्माण पनि सुस्त गतिमा छ । २०७३ सालमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको उक्त सडकको प्रगति अपेक्षाकृत नभएको दार्चुला तिङ्कर सडक योजना कार्यालयले बताएको छ । २०४२ सालमा उक्त सडक निर्माणको पहल थालिएको थियो ।
७ नं प्रदेशका ठूला आयोजनामध्ये सेती लोकमार्ग पनि एक हो । उक्त आयोजनाको कामले समेत गति लिएको छैन । करीब १ दशकदेखि निर्माणको चर्चा चलेको यो सडकको ट्र्याक खोल्नै ढिलाइ भएको सेती लोकमार्ग (दक्षिण खण्ड टीकापुर–लोडे–चैनपुर सडक) योजना कार्यालय, साँफेबगरका इ िञ्जनीयर हरि सुवेदीले बताए । यो लोकमार्गलाई दक्षिणी खण्ड र उत्तरी खण्ड भनेर दुई भागमा विभाजन गरी ट्र्याक खोल्न लागिएको छ । कैलालीको टीकापुरलाई जिरो प्वाइण्ट मानिएको उक्त सडकको दक्षिणी खण्ड बझाङको चैनपुरसम्म पु¥याउने लक्ष्य छ । यद्यपि, अहिलेसम्म टीकापुरबाट बौनियासम्म ७ किलोमिटर सडक मात्र कालोपत्र गरिएको छ । दक्षिणी खण्डअन्तर्गत अहिलेसम्म ५० प्रतिशत अर्थात् १ सय २० किलोमिटर सडकको मात्र ट्र्याक खोलिएको इञ्जिनीयर सुवेदीले बताए ।
कुल ७ अर्ब लागत अनुमान गरिएको सेती लोकमार्ग, दक्षिणी खण्ड निर्माणका लागि आर्थिक वर्ष २०७४/७५ मा २२ करोड बजेट छुट्ट्याइएको थियो । यसमध्ये १० करोडबराबरको काम भएको आयोजनाले बताएको छ ।
त्यसैगरी सेती लोकमार्ग (उत्तरी खण्ड, चैनपुर–ताक्लाकोट सडक) आयोजना कार्यालय, चैनपुरका अनुसार कुल १ सय १७ किलोमिटर सडकमध्ये १ सय किलोमिटर सडकको ट्र्याक खोलिएको आयोजना प्रमुख अमित श्रेष्ठले बताए । ८ अर्ब २ करोड १२ लाख लागत अनुमान गरिएको उक्त सडक खण्ड निर्माणका लागि पर्याप्त बजेट र समयमा अख्तियारी प्राप्त नहुँदा अपेक्षाअनुरूप काम हुन नसकेको उनले बताए । सडक निर्माणका लागि ३७ करोड ८० लाख ४० हजार बजेटमध्ये दुई निर्माण कम्पनीलाई पेश्कीबापत १७ करोड ८८ लाख दिइएको प्रमुख श्रेष्ठले जानकारी दिए । आयोजनाको उत्तरी खण्डको निर्माणका लागि बझाङको चैनपुर र दक्षिणी खण्डका लागि अछामको साँफेबगरमा आयोजना कार्यालय राखिएको छ ।
त्यसैगरी धनगढीको हसनपुरलाई जेरो प्वाइण्ट मानेर निर्माण थालिएको धनगढी–खुटिया–बीपीनगर–गड्सेरा–दीपायल ९५ किलोमिटर सडकको काम रोकिएको छ । रूख कटानी आदेश नआउँदा १७ किलोमिटर सडकको ट्र्याक खोल्न नसकिएको आयोजना प्रमुख राजेन्द्र शाहले बताए । २ अर्ब ९८ करोड लागत अनुमान गरिएको उक्त सडक निर्माणका लागि आर्थिक वर्ष २०७४/७५ मा १५ करोड बजेट विनियोजन भएकोमा १३ करोड ६१ लाख खर्च भएको उनले जानकारी दिए ।
धनगढीको मोहनापुललाई जेरो प्वाइण्ट मानेर गत आवदेखि निर्माण थालिएको मोहनापुल–अत्तरिया सडक निर्माण पनि सुस्त गतिमा छ । साढे १४ किलोमिटर सडकमध्ये १० किलोमिटर ६ लेन तथा साढे ४ किलोमिटर ४ लेनको बनाउन लागिएको छ । यसका लागि कुल १ अर्ब ६८ करोड बजेटमध्ये आर्थिक वर्ष २०७४/७५ मा ५१ करोड बजेट विनियोजन भएको थियो । यसमध्ये २१ करोड फ्रिज भएको आयोजना कार्यालय, धनगढीले बताएको छ । प्रदेशभित्र ९ ओटा उत्तर–दक्षिण सडकको निर्माण पनि सुस्त गतिमा भइरहेको छ । यी आयोजनाका लागि सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आए पनि समयमा काम हुन नसकेपछि फ्रिज हुने समस्या बढेको छ ।