महाशिला गाउँपालिकाको यस्तो निर्णयपछि घरघरमै पुगेर खाता खोल्दै रावा बैङ्क
Sep 12, 2018
 
बजार
भदौ २७, पर्वत । पर्वतको महाशिला गाउँपालिकामा घरघरै पुगेर बैङ्कले खाता खोल्न थालेको छ । यहाँको राष्ट्रिय वाणिज्य बैङ्कले सामाजिक सुरक्षा भत्ता पाउन योग्य व्यक्तिहरुका घरमै पुगेर खाता खोल्न थालेको हो ।
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्क खातामार्फत वितरण गर्ने तयारी गरेपछि बैङ्कका कर्मचारीहरुलाई अहिले लाभग्राहीको खाता खोल्न भ्याईनभ्याई छ । बैङ्क खाता मार्फत रकम वितरण गर्दा सुरक्षित हुने भएकाले गाउँपालिकाले खाता खोल्नुपर्ने ब्यबस्था थालेको प्रवक्ता जीवन उचै ठकुरीले बताए ।
गाउँपालिकाका ६ ओटै वडामा १५ दिनसम्म यो अभियान थालेर सबै लाभग्राहीलाई भत्ता वितरण गरिने बताईएको छ । बैङ्कले पनि सबैको खाता खोल्ने गरी काम तीव्र पारेको छ । यसपटक घरदैलो नै गएर खाता खोलिने र अर्को किस्तादेखि सबैलाई बैङ्क खातामै रकम जम्मा गरिने ठकुरीले जानकारी दिए ।
यसअघि कर्मचारीहरुले रकम वितरण गर्दै आएका थिए भने स्थानीय तहमा जनप्रतिनिधि आएपछि उनीहरुले घरमै पुगेर वितरण गर्न थालेका थिए । ‘घरघरै जान मुस्किल भयो, अब बैङ्क खातामै रकम जम्मा गरिदिने निर्णय ग¥यौँ,’ अध्यक्ष राजु पौडेलले भने, ‘सुरक्षित समेत हुने भएपछि हामी खातामा जम्मा गरिदिने निर्णयमा पुगेका हौँ ।’ सबै वडामा पुगेर लाभग्राहीको खाता खोल्ने अभियान नै चलाएको पौडेलले बताए ।
महाशिला गाउँपालिकाका ६ ओटै वडामा गरी बृद्धबृद्धा, एकल महिला, शारीरिक रुपमा अशक्तलगायत गरी सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या १७ सय भन्दा बढी छ ।