ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली–रारा पर्यटन वर्ष–२०७५ : ५ महीनाको प्रगति लेटरप्याड र होर्डिङबोर्ड

Sep 16, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । कर्णाली–रारा पर्यटन वर्षको पाँच महीनाको अवधिमा सुर्खेतको धुलियाबिट चोकमा पर्यटन वर्षसम्बन्धी दुईओटा होर्डिङबोर्ड र मन्त्रालयभित्र डिजिटल बोर्ड, लेटरप्याडमात्र बनाइएको छ । ५ लाख पर्यटक भित्र्याउने महत्त्वाकाङ्क्षी लक्ष्यसहित कर्णाली प्रदेश सरकारले गत वैशाख १ गते मुगुको रारातालबाट पर्यटन वर्षको शुभारम्भ गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली रारामै पुगेर शुभारम्भ गरेको पर्यटन वर्षको ५ महीना पूरा हुन लागेको छ । यो अवधिमा प्रदेश सरकारका गतिविधि शून्यप्रायः छन् । लेटरप्याड छ, सचिवालय छैन । ५ महीनाको अवधिमा कति जना आन्तरिक तथा बाह्य पर्यटक कर्णाली प्रदेशमा आए त्यसको तथ्याङ्क पनि छैन । सरोकारवाला निकाय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कले भन्छ, कर्णालीमा ‘शून्य’ पर्यटक भित्रिए । मुख्यमन्त्री संयोजक रहेकाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश स्तर र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्रालयस्तरको युनिट हुनुपर्ने हो । यो अवधिमा मन्त्रालयले दुईओटा काम देखिने गरेर गरेको छ । मन्त्रालयको मुख्यद्वार र वीरेन्द्रनगरको धुलियाबिट चोकमा पर्यटन वर्षसम्बन्धी होर्डिङबोर्ड राखिएका छन् भने मन्त्रालयभित्र डिजिटल बोर्ड राखिएका छन् । ‘त्योबाहेक अहिलेसम्म केही कामै भएको छैन,’ मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले भने, ‘न सचिवालय छ, न कर्मचारी, कहाँबाट पर्यटनसम्बन्धी गतिविधि हुनु ।’ ७० लाख रुपैयाँ खर्चेर शुभारम्भ गरिएको पर्यटन वर्षको दुवै ठाउँमा पर्यटनसम्बन्धी हेर्ने युनिटसमेत छैनन् । पर्यटन वर्षको उद्घाटनका क्रममा ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५ सचिवालय’का नामबाट प्रधानमन्त्रीसहित सङ्घीय सरकारका मन्त्री, ६ ओटै प्रदेशका मुख्यमन्त्री र कूटनीतिक नियोगका प्रमुखलाई प्रदेश सरकारले पत्र पठाएको थियो । १० ओटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएका छन् । प्रदेश स्तरमै पर्यटनसम्बन्धी गर्ने युनिट नहुँदा जिल्लामा पनि गतिविधि शून्य छन् । पर्यटन वर्षले नेपालकै ठूलो राराताललाई केन्द्रमा राखेको थियो । जुम्ला र मुगुको सीमा नाकामा रहेको नेपाली सेनाको बुलबुले चेकपोस्टका अनुसार वैशाखयता १८ हजार ३८ जना रारा प्रवेश गरेका छन् । तीमध्ये ३ सय १० जना विदेशी पर्यटक छन् । नेपाली सेनाको इण्ट्री पोष्टको यो रेकर्ड पनि प्रदेश सरकारसँग छैन । नेपाली सेनाको यो रेकर्डले १ वर्षको अवधिमा ५ लाख पर्यटक भिœयाउने प्रदेश सरकारको लक्ष्य पूरा हुने देखिँदैन । ‘पूर्वाधार र तयारीबिना नै पर्यटन वर्ष घोषणा भयो,’ मन्त्रालयका प्रशासन, योजना तथा अनुगमन महाशाखाका प्रमुख शिवराम अधिकारीले भने, ‘५ लाख त के १ लाख पर्यटन भिœयाउन पनि मुश्किल छ ।’ कर्णाली प्रदेश पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलले भरिपूर्ण छ । तर, पूर्वाधार अभावका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउन मान्दैनन् । २ महीनादेखि राराताल जाने कर्णाली राजमार्ग अवरुद्ध छ । प्रदेश सरकारले बाटो खुलाउन पहल गरेको छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)