रुकुम । रुकुम उद्योग वाणिज्य सङ्घको कार्यालय २ महीनादेखि बन्द छ । उद्योगी तथा व्यवसायीको आर्थिक विवादका कारण सङ्घ बन्द भएको हो । गत असार २२ गते सङ्घको उद्घाटन कार्यक्रम रोकेर प्रगतिशील प्यानलले सङ्घमा तालाबन्दी गरेको थियो ।
सङ्घको आयव्यय सार्वजनिक गर्नुपर्ने माग गर्दै कार्यालयमा तालाबन्दी गरेको प्रगतिशील प्यानलका तर्फबाट महासचिवका उम्मेदवार धनबहादुर खड्काले बताए । उनले भने, ‘सङ्घको आन्तरिक आयव्यय र रुकुम महोत्सव २०७४ को आयव्यय सार्वजनिक नभएसम्म ताला खुल्नेछैन ।’ संयुक्त प्यानलका अध्यक्षका उम्मेदवार नवराज गिरीले चुनावमा हार्ने निश्चित भएपछि अधिवेशन रोकेर कार्यालयमा तालाबन्दी गरेको आरोप लगाए ।
गत जेठ २ गते सङ्घको वर्तमान कार्यसमितिको पदावधि सकिने भएपछि वैशाख २५ गते बैठक बसेर असार २२ गते अधिवेशन गर्ने मिति तय गरिएको थियो । हाल संयुक्त प्यानलका अध्यक्षका उम्मेदवार गिरी वर्तमान कार्यसमितिका महासचिव हुन् । प्रगतिशील प्यानलका अध्यक्षका उम्मेदवार राजन पुन कोषाध्यक्ष हुन् ।
वर्तमान कार्यसमितिका कोषाध्यक्षलगायतको प्यानलले कार्यालयमा तालाबन्दी गरेर हलो अड्काएर गोरु चुट्ने काम भएको सङ्घका अध्यक्ष टेकबहादुर पुनले बताए । उनले भने, ‘कोषाध्यक्षले आर्थिक प्रतिवेदन तयार पारेर सार्वजनिक गर्नुको साटो कार्यालयमा तालाबन्दी गर्नु गैरजिम्मेवारपूर्ण काम हो ।’ कोषाध्यक्ष पुनले सङ्घको आर्थिक विवरण अध्यक्षले मनोमानी तरीकाले तयार पारेको र आफूलाई जानकारी नभएको आरोप लगाए ।
मारमा व्यवसायी
नयाँ आर्थिक वर्षदेखि उद्योगी तथा व्यवसायीले अडिट गर्ने, कर बुझाउने र उद्योग व्यापार नवीकरण गर्नुपर्ने अवस्थामा कार्यालयमा तालाबन्दी गरेपछि व्यापारीहरू समस्या परेको स्थानीय व्यापारी नवीन खड्काले बताए । सङ्घले आन्तरिक राजस्व कार्यालयको समन्वयमा अनलाइन कर बुझाउने गर्दै आएको थियो । अध्यक्ष पुनले छिटै सङ्घमा लगाएको ताला सहमतिमा खोल्ने तयारी भइरहेको बताए ।