पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्ड दैनिक ७ घण्टा अवरुद्ध हुने गरेको छ । मर्मतका क्रममा रहेको यो सडक असोज १ देखि २० गतेसम्मका लागि दैनिक ७ घण्टा बन्द भएको हो । लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भीर र दोबिल्लादेखि चुवासम्मको चुवा भीरमा सडक फराकिलो बनाउन सडक बन्द गर्नुपरेको निर्माण कम्पनी लामा कन्ष्ट्रक्शनले बताएको छ । बिहान १० देखि १२ बजेसम्म, दिउँसो १ देखि ४ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म यातायात बन्द गरेर सडक निर्माण भइरहेको उसको भनाइ छ ।
लोकमार्गको पर्वत खण्डमा अहिले साँघुरा घुम्ती फराकिलो बनाउने काम भइरहेको छ । चुवाको भीर, महभीर, छमर्के, अर्मादीलगायत ठाउँमा पहरो फोर्ने काम जारी छ । यस्तै, नाली बनाउने, पर्खाल चिन्ने र ग्याबिन÷जाली भर्ने काम पनि अघि बढाइएको छ ।
धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक पटकपटक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन् । वर्षा रोकिएर सडक सहज हुने अपेक्षा गरेका यात्रुहरू सडक पुनः अवरुद्ध हुँदा चिन्तित छन् ।
असोज २० पछि दशैं शुरू हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले सडक बन्द नगरिने निर्माण कम्पनी लामा कन्ष्ट्रक्शनका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले बताए । सडकमा सबै प्रकारका सवारीसाधन सहजै चल्नेगरी विस्तारको काम भइरहेको उनको भनाइ छ । ‘सडक किनारका निर्माण सामग्रीसमेत हटाएर सडक फराकिलो बनाइँदै छ,’ उनले भने ।
आयोजनाको पर्वत प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ष्ट्रक्शनले पाएको छ । उक्त कामका लागि कम्पनीले ८३ करोड ९८ लाखमा ठेक्का पाएको हो । अहिलेसम्म १५ प्रतिशत काम सकिएको प्रोजेक्ट म्यानेजर भुसालले जानकारी दिए । अहिले सबै ठाउँबाट काम शुरू गरिएको र दशैंतिहारपछि कामलाई झनै तीव्र बनाइने उनले बताए ।
मध्यपहाडी लोकमार्ग आयोजनाले पोखरा–बागलुङ खण्डको मर्मतसम्भार तीव्र पारेको छ । लोकमार्ग नयाँ स्वरूपमा विस्तार र स्तरोन्नतिका लागि चारओटा प्याकेजमा काम भइरहेको छ । आयोजनाका अनुसार ३ वर्षभित्र पोखरा–बागलुङ खण्डको धेरैजसो भाग नयाँ स्वरूपमा बन्नेछ । २०५० सालमा निर्मित यो सडकका धेरै ठाउँमा सवारी सञ्चालन कठिन बनेको छ भने सवारीसाधनको चापले साँघुरो सडकमा जामसमेत हुने गरेको छ ।