पर्वत । जिल्लाको जलजला गाउँपालिकामा विद्युतीकरणले बस्तीमा समस्या निम्तिएको छ । घरमाथि नै हाई भोल्टेजको तार विस्तार हुँदा जलजला–२ र ३ बगरफाँटका बासिन्दा जोखीममा परेका हुन् । बेनीदेखि म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा ३२ केभी क्षमताको केन्द्रीय प्रसारण लाइनको तार घरमाथिबाट विस्तार भएपछि समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।
प्रसारण लाइन निर्माण भएपछि पनि सम्बन्धित निकायको अनुगमन र नियमन नहुँदा सो क्षेत्रमा घरहरू निर्माण हुने क्रम भने रोकिएको छैन । ‘घरको छतमा कपडा सुकाउन जाँदा पनि करेण्ट लाग्ने खतरा भयो,’ स्थानीय सुरेश विश्वकर्माले भने, ‘हामीमाथि अन्याय भयो ।’ करेण्ट लागेर अहिलेसम्म ३ जना घाइते भएको विश्वकर्माले जानकारी दिए ।
बगरफाँट क्षेत्रमा करीब २ किलोमिटर प्रसारण लाइन रहेको छ । प्रसारण लाइनलाई व्यवस्थित गर्न स्थानीयले नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गरेका छन् ।
घरमाथि रहेको प्रसारण लाइनले दिनदिनै समस्या निम्तिएपछि स्थानीयले सङ्घर्ष समिति गठन गरी आन्दोलन थालेका छन् । १ सय २० घरधूरी प्रसारण लाइनको जोखीममा रहेको स्थानीय हीराबहादुर बरुवालले बताए । तार व्यवस्थापन गर्न विद्युत् प्राधिकरणमा दिनहुँ डेलिगेसन गइरहेको उनले जानकारी दिए ।
विद्युत् प्राधिकरणले अटेर गरेपछि पीडित बासिन्दा स्थानीय सरकारको शरणमा पुगेका छन् । प्रसारण लाइन व्यवस्थापनका लागि वडा र गाउँपालिकामार्फत ऊर्जा मन्त्रालयमा पहल गरिएको वडा नं. २ का अध्यक्ष गोविन्द खत्रीले बताए । खत्रीका अनुसार प्रसारण लाइन व्यवस्थापनका लागि ३० लाख रुपैयाँ लागत अनुमान गरिएको डीपीआर तयार पारिएको छ ।